



सिनेसुत्र, बिराटनगर- दीपक रौनियारको निर्देशनमा बनेको नयाँ सिनेमा ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ। २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गर्न प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरिएको छ। सोसल ड्रामा र एक्सनले भरिएको यो सिनेमामा आशा मगराती मुख्य भूमिकामा छिन्। टिजरमा पूर्व मिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायतका कलाकार पनि फिचर्ड छन्।
‘राजागंज : पूजा, सर’ भेनिसमा आगामी बिहीबार, २९ अगस्टमा विश्व प्रिमियर हुँदैछ। यो रौनियारको तेस्रो निर्देशनिय फिचर सिनेमा हो, र यसले विभिन्न अन्तर्राष्ट्रिय महोत्सव र हल रिलिज अघि नै विश्वका विभिन्न देशमा वितरण अधिकार बिक्री गरेको छ। फ्रान्सको एआरपी सेलेक्सन कम्पनीले राइट किनिसकेको छ भने स्वीट्जरल्याण्ड, जर्मनी र अस्ट्रेलियाका लागि ट्रिगोनले राइट किनेको छ।
रौनियारको पूर्ववर्ती सिनेमाहरू ‘हाइवे’ र ‘ह्वाइट सन्’ ले अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा प्राप्त गरेको छ। ‘राजागंज : पूजा, सर’ भेनिस प्रिमियरको साथ रौनियारको जन्मदिनसँग मिलेर प्रदर्शनमा आउँदैछ।