प्रेम, बिछोड र समाजको दबाब झल्काउने ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित नेपाली सिनेमा ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सिनेमाका निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सिनेमाको दोस्रो पोस्टर रिलिज गरिएको हो। प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यले नयाँ पोस्टर सार्वजनिक गरिएको निर्माणपक्षले जनाएको छ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमि र दुवै कलाकारको गम्भीर भावले सिनेमा सामाजिक वा पारिवारिक कथावस्तुमा आधारित रहेको बलियो संकेत गर्छ।

पोस्टरमा दुवै कलाकार विपरीत दिशातर्फ फर्केर उभिएका छन्, जसले उनीहरू प्रेमी–प्रेमिका हुन सक्ने अनुमान गर्न सकिन्छ। उनीहरूको अनुहारको भावले सम्बन्धमा आएको खटपट, रिस, वैचारिक दूरी, असमझदारी वा परिस्थितिले सिर्जना गरेको बाध्यता र बिछोडको मर्मलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। पोस्टरको पृष्ठभूमिमा धमिलो रूपमा देखिएको मानिसहरूको भीडले यी पात्रहरूको व्यक्तिगत जीवन र सम्बन्धमा समाजको दबाब वा भूमिकालाई पनि संकेत गरेको छ।क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको सिनेमामा सुशील सिटौला र न्यान्सी खड्काका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

कलाकारहरूले निकै मिहिनेत गरेको भनिएको सिनेमाको छायांकन झण्डै डेढ महिना लगाएर सम्पन्न गरिएको थियो। सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको सिनेमालाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।

सिनेमाको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलको संयुक्त लेखनमा तयार भएको हो। दीपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्। सिनेमा आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ। 

सम्बन्धित समाचारसबै