के मधेशी हुनु नै हाम्रो गल्ती हो? काजल कर्णको खुलासा : ‘चिरञ्जिवी भवः’ टिममाथि विभेदको आरोप

0 Shares

सिनेसुत्र, बिराटनगर- कलाकार काजल कर्णले आफूले नेपाली सिनेमा ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा मधेशी भएकै कारण विभेद, अपमान र मानसिक तनाव भोग्नुपरेको गम्भीर आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत लामो खुला पत्र सार्वजनिक गर्दै उनले सिनेमाको सेटमा कलाकारका रूपमा होइन, आफ्नो मधेशी पहिचानका आधारमा व्यवहार गरिएको दाबी गरेकी छन्।

काजलले सानैदेखि कलाकार बन्ने सपना बोकेर ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतमा अभिनय गरेको उल्लेख गर्दै नेपाली सिनेमा ‘चिरञ्जिवी भवः’ सम्म पुग्नु आफ्नो करियरको महत्वपूर्ण अवसर भएको बताएकी छन्। ‘परान’का निर्देशकसँग काम गर्ने अवसर पाउँदा निकै उत्साहित भए पनि सेटमा पुगेपछि आफूले अपेक्षाभन्दा बिल्कुल फरक अनुभव भोग्नुपरेको उनको भनाइ छ।

उनका अनुसार सुरुवातदेखि नै पोसाक, यातायात र समन्वयका विषयमा आफूलाई असहज बनाइएको थियो। डिजाइनरले आफ्नै खर्चमा लुगा व्यवस्था गर्न भनेको तथा सुटिङमा लैजानुपर्ने गाडी अन्तिम समयमा रद्द गरिएकाले आफूले आफैं यातायातको व्यवस्था गर्नुपरेको उनले उल्लेख गरेकी छन्।इटहरीमा छायांकनका क्रममा मेकअप रुममा समेत आफूलाई अपमानजनक व्यवहार गरिएको काजलको आरोप छ। मुख्य अभिनेत्रीको मेकअप भइरहेका बेला आफूलाई कोठाबाट हटाउन खोजिएको र त्यसपछि मेकअप कलाकारहरूले आफ्नो छालाको रङ र मधेशी पहिचानलाई लिएर व्यंग्य गरेको उनले दाबी गरेकी छन्। खुला पत्रमा उनले मेकअप आर्टिस्टले जानाजानी अनुहारमा कालो मेकअप लगाएको, ‘तिमी त तराईको मान्छे’ भन्दै गाई–भैँसीसँग जोडेर होच्याउने टिप्पणी गरिएको तथा ‘मधेशी’ भनेर सेटभरि मजाक उडाइएको आरोपसमेत लगाएकी छन्।

काजलका अनुसार स्क्रिप्टमा नभएका दृश्यसमेत जबर्जस्ती गराइयो र कलाकारको भूमिकाभन्दा फोहोर उठाउने तथा कुचो लगाउने दृश्यमा बढी प्रयोग गरियो। दुई दिनसम्म आफूलाई कलाकारको रूपमा नभई मजदुरसरह व्यवहार गरिएको उनको भनाइ छ।

पारिश्रमिकको विषयमा पनि आफूले सास्ती भोग्नुपरेको उनले उल्लेख गरेकी छन्। बाँकी रकम मागेपछि इटहरी बोलाइएको तर त्यहाँ पुग्दा आफ्नो स्थानमा अर्कै कलाकारलाई राखिएको थाहा पाएको उनले दाबी गरेकी छन्। आफूलाई कुनै जानकारी नदिई निर्देशकको निर्णयमा सिनेमाबाट हटाइएको र पछि केवल आफ्नो लुगा लिनका लागि मात्रै बोलाइएको जानकारी दिइएको उनको आरोप छ।

काजलले यो घटना व्यक्तिगत पीडामात्र नभई नेपाली सिनेमा उद्योगमा मधेशी कलाकारले भोग्नुपरेको विभेदको उदाहरण भएको बताएकी छन्। उनले प्रश्न गर्दै भनेकी छन्, “के मधेशी हुनु नै हाम्रो गल्ती हो? के आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?” उनले आफूले भोगेको अनुभव सार्वजनिक गर्नुको उद्देश्य आफ्नो मात्र नभई मधेशका सपना बोकेर सिनेमा क्षेत्रमा संघर्ष गरिरहेका अन्य कलाकारहरूको आवाज उठाउनु रहेको उल्लेख गरेकी छन्।

यद्यपि, काजल कर्णले लगाएका यी आरोपप्रति ‘चिरञ्जिवी भवः’ सिनेमाको निर्माण टिम, निर्देशक वा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। उनीहरूको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ। कलाकार काजल कर्णको पुरा भनाइ पढ्न थिच्नुहोस  :

 

सम्बन्धित समाचारसबै