सिनेसुत्र, बिराटनगर- सिनेमा ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज सिनेमाको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन्। उनी हल्दी डे मनाइरहेका छन्। उनको हल्दी डेमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ देखिएका छन्। विवाहपूर्व मनाइने यो हल्दी डेमा उपस्थित सबै प्रफुल्ल मुद्रामा छन्। हल्दी डेका लागि सजाइएको झकिझकाउ स्पेस र उपस्थितहरूको पहिरनले खानदानी परिवारको छोराको बिहे भइरहेको स्पष्ट देखाउँछ। नम्रताको हातमा हुनेवाला दुलाहालाई बधाई दिन ल्याइएको बुके छ।
मदनकृष्ण भने ह्विलचेयरमा छन्। यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ। पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमिली ड्रामा रहेको संकेत दिएको छ। पोस्टरले सपरिवार सिनेमा हेर्न हलमा आउन दर्शकलाई अपिल पनि गरेको छ। अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो सिनेमा भदौ २६ गते रिलिज हुँदै छ। हाल यो सिनेमा पोस्ट-प्रोडक्सनको चरणमा छ। सिनेमा ‘माया भनेकै यस्तो होला’ मार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो।
निर्देशनमा केन्द्रित रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर सिनेमा निर्देशन गरेकी हुन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको पनि अभिनय छ। लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय रहेको छ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको सिनेमामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। यस सिनेमाले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ। ध्रुव लम्सालको पटकथा लेखन रहेको छ। सुदीप बरालको छायांकन रहेको सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे सिनेमा संयोजक, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप र चुडामणि (सीएम) को प्रोडक्सन रहेको छ। यो सिनेमालाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।
