सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गौँथली’ को अमेरिका राइट्स बिक्री भएको छ। सेभेन सिस इन्टरनेसनल फिल्म्सले ‘गौँथली’ को अमेरिका राइट्स खरिद गरेको हो। ‘गौँथली’ का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीबीच खरिद–बिक्रीसम्बन्धी कागजी सम्झौता भएको छ।
प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले अन्तर्राष्ट्रिय राइट्स बिक्री सुरु गरेको हो। सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट अन्तर्राष्ट्रिय अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताएका छन्। नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमा त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) देखि अमेरिकाका विभिन्न प्रमुख सहरहरूमा एकसाथ प्रदर्शन हुनेछ।
बिस्तारै हाम्रो सिनेमाको हाइप बढ्दैछ। हाइप बढ्दै जाँदा ओभरसिज मार्केटबाट इन्क्वाइरी पनि बढ्दैछ, निर्देशक रिजालले भने। यो सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ। ट्रेलर रिलिजपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा सिनेमा चर्चाको केन्द्रमा बनेको छ। बढ्दो चर्चा र ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका कारण ‘गौँथली’ ले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा पनि सिनेमा ठूलो स्केलमा प्रदर्शन हुने निश्चित भएको निर्माण टिमको विश्वास छ।
दुई दशकअघि ‘गौँथली’ नाममै डा. भोला रिजालले सिनेमा निर्माण गरेका थिए। उक्त सिनेमा नेपाली सिनेमा इतिहासकै पहिलो ‘गीति सिनेमा’ (म्युजिकल सिनेमा) का रूपमा परिचित छ। त्यो सिनेमाले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ सिनेमा ‘गौँथली’ निर्देशन गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्। सिनेमाकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
डा. भोला रिजालको कथामा बनेको सिनेमाको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।