



सिनेसुत्र, बिराटनगर- भोलि शुक्रबारदेखि देशभरका हलहरुमा रिलिज हुन लागेको सिनेमा ‘वर एण्ड वधु’को बुधबार साँझ ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको थियो।
निर्देशक मिलन चाम्सले यस प्रिमियरलाई भव्य बनाउन कुनै कमी राखेनन् , ‘रेड कार्पेट मिरर वाल्क’ नाम दिइएको यस कार्यक्रममा सिनेमा क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व, पत्रकार, र राजनीतिज्ञहरुको उपस्थिति थियो।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यस सिनेमा हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायतका चर्चित व्यक्तिहरु हल पुगेका थिए। साथै, सिनेमाका प्रमुख कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि कार्यक्रममा उपस्थित थिए।



सिनेमा हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सिनेमाको हरेक पक्ष उत्कृष्ट रहेको उल्लेख गर्दै सबैलाई हेर्न आग्रह गरे।
वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि सिनेमाको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशनको प्रशंसा गरे।
निर्देशक दीपाश्री निरौलाले पनि समग्रमा सिनेमा उत्कृष्ट रहेको बताइन् , उनले आँखा शीतल पार्ने सिनेमा हेर्न पाएकोमा खुशी व्यक्त गरिन्।
यस्तै, हाँस्य कलाकार केदार घिमिरेले पनि सिनेमालाई राम्रो बनेको प्रतिक्रिया दिए।

निर्देशक सुयोग गुरुङले सिनेमालाई अत्यन्त रमाइलो रहेको बताए , उनले निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार सिनेमा बनाएको प्रतिक्रिया दिए।
नायिका मिरुना मगरले आँचल शर्माको भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् र उनले आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन्।
सिनेमामा नव-नायक विवेक कर्माचार्यको कामको पनि खुलेरै प्रशंसा गरिएको छ। विवेकको अभिनयले नयाँ नायक जस्तो नलाग्ने धेरैको धारणा थियो।

भोलिदेखि रिलिजमा आउने यो सिनेमाले मल्टिप्लेक्सहरुमा सुखद शो पाएको छ, जसले गर्दा देशभरका दर्शकले यस सिनेमालाई मन पराउने विश्वास गरिएको छ।