सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गौँथली’ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै सकारात्मक व्यापारिक लय समातेको छ। प्रदर्शनको सुरुवाती दिन (शुक्रबार) औसत व्यापार गरेको यस सिनेमाले शनिबार र आइतबार भने अपेक्षाभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको निर्माण टिमले जनाएको छ।
सिनेमाको रिलिज ताका विश्वकप फुटबलको माहोल र निरन्तरको वर्षातका कारण हलसम्म दर्शक आउन कठिन हुने अनुमान गरिए पनि ‘गौँथली’ हेर्न दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ। दर्शकको चाप बढेसँगै हल सञ्चालकहरूले पनि सिनेमाको शो सङ्ख्यामा क्रमशः वृद्धि गर्दै लगेका छन्।
निर्देशक डा. कपिल रिजालका अनुसार सिनेमा हेरेर निस्किएका दर्शकले दिने सकारात्मक प्रतिक्रियाका कारण पछिल्ला शोहरूमा दर्शक सङ्ख्या बढ्दो छ। ‘‘जति पछिका शोहरू छन्, त्यसमा दर्शकको चाप उत्ति नै बढी देखिएको छ,’’ निर्देशक रिजालले भने, ‘‘सिनेमा हेर्नेले अरूलाई पनि सिफारिस गरेका कारण अपराह्न र साँझका शोहरू भरिभराउ हुन थालेका छन्।
यस्तै, ‘गौँथली’का महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेसँगै निर्देशक रिजालले दर्शकलाई यसो नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै निर्देशक रिजालले सिनेमालाई दर्शकले दिएको माया, साथ र हौसलाप्रति आभार व्यक्त गरेका छन्। प्रदर्शनपछि आफू र सिनेमाको सम्पूर्ण टिम विभिन्न सिनेमाघरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको उनले उल्लेख गरेका छन्।
पछिल्ला दिनमा सिनेमाका दृश्यहरू फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको भन्दै यसले अन्य दर्शकको उत्सुकता घटाउनुका साथै सिनेमा र निर्माण पक्षको लगानीमा समेत प्रत्यक्ष असर पर्ने बताएका छन्।
निर्देशक रिजालले लेखेका छन्, ‘‘सामाजिक सञ्जालमा फिल्महरू भेटिँदा यसले व्यावसायिक, सृजनात्मकसँगै कलात्मक क्षति पनि गरिरहेको छ। सिनेमा हेर्न आउने दर्शकले अगाडि नै दृश्य थाहा पाउँदा त्यसले राम्रो गर्दैन। त्यसैले हामीले भिडियो खिच्नेविरुद्ध कानुनी रूपमा अगाडि बढिसकेका छौँ।
उनले त्यस्ता गतिविधि नगर्न दर्शकसँग विनम्र अनुरोध गर्दै यस विषयमा कानुनी प्रक्रिया पनि अघि बढाइसकिएको जानकारी दिएका छन्। जस्तोसुकै अवस्थामा पनि श्रीमान्श्री-मतीले एकअर्कालाई साथ दिनुपर्छ, अन्यायका विरुद्ध लड्नुपर्छ, व्यक्तिमा प्यासन र धैर्यता हुनुपर्छ, लक्ष्य प्राप्तिका लागि संघर्ष गर्नुपर्छ र चाहे आफ्नै घरमा वा आफ्नै व्यक्तिले किन गल्ती नगरोस्, त्यसविरुद्ध बोल्नुपर्छ भन्ने सन्देश ‘गौँथली’ले दिएको भन्दै दर्शकले सिनेमाको प्रशंसा गरिरहेका छन्।
समाजमा पीडित रहेका महिलाको आवाज सिनेमाले उठान गरेको भन्दै महिलाहरूले सिनेमा मन पराइरहँदा त्यसको समग्रमा सकारात्मक प्रभाव परिरहेको निर्देशक रिजालले बताए।
मंगलबार पनि देशभरका अधिकांश हलमा सिनेमाको अकुपेन्सी उत्साहजनक रहेको निर्माता सुमन गिरीले जानकारी दिए। बिहानका शोमा ७०/८० प्रतिशतसम्म र दिउँसोदेखिका शोमा पनि शतप्रतिशत अकुपेन्सी रहेको उनको भनाइ छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित सिनेमाको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको सिनेमाको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्। 