सिनेमा ‘पार्वती’ अब अमेरिकामा पनि प्रदर्शन : माया डिजिटलले किन्यो प्रदर्शन अधिकार

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, सिनेमा कति रकममा बिक्री भएको हो भन्ने विषयमा निर्माण पक्षले केही खुलाएको छैन।

अमेरिकामा प्रदर्शन अधिकार बिक्री भएपछि सिनेमाकी निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामा रहेका दर्शकलाई सिनेमा हेरिदिन आग्रह गरेकी छन्।‘माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको यो भावनात्मक सिनेमा अब अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा सिनेमाप्रेमी दर्शकमाझ पनि पुग्दैछ,’ उनले भनेकी छन्। नीताका अनुसार अमेरिकाबाहेक अन्य देशका वितरकसँग पनि प्रदर्शनबारे छलफल भइरहेको छ। यसैबीच, सिनेमामा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छ। एक साताअघि सार्वजनिक भएको यो गीतलाई दर्शकले धेरै मन पराएका छन्।

निर्देशक ढुङ्गानाकै कथा र निर्देशनमा निर्माण भएको यस सिनेमामा उनी स्वयं मुख्य भूमिकामा छिन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतका कलाकारको अभिनय रहेको छ।

शिवम् अधिकारीले पटकथा तयार पारेको यस सिनेमामा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन छ। नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्। यसअघि नीताले सिनेमा ‘ह्रस्वदीर्घ’ निर्माण गरेकी थिइन्।

सम्बन्धित समाचारसबै