दोस्रो हप्तामा ‘गौँथली’को दबदबा : २५० भन्दा बढी शोसहित हलमा उत्साह

0 Shares

सिनेसुत्र, बिराटनगर- उत्साहजनक प्रतिक्रियासहित सिनेमा ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको सिनेमाले सकारात्मक प्रतिक्रिया प्राप्त गरेसँगै देशभर यसको शो संख्या बढ्ने क्रम जारी छ। सिनेमाको व्यापार पनि उत्साहप्रद रहेको निर्माण पक्षको दाबी छ। यद्यपि, बक्स अफिसको आधिकारिक विवरण भने निर्माण टिमले सार्वजनिक गरेको छैन।

हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्स अफिस डाटा सार्वजनिक गर्दै आएको छ। त्यसैले हामीले बोर्डले नै आधिकारिक रूपमा सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ, निर्देशक कपिल रिजालले भने, तर धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्स अफिस रिपोर्ट आउँदैछ।

सुरुमा करिब २०० शो पाएको सिनेमा ‘गौँथली’ले अहिले २५० भन्दा बढी शो पाइसकेको छ। अधिकांश हलमा दर्शकको चाप उच्च रहेकाले व्यापारिक प्रदर्शन उत्साहजनक रहेको बताइएको छ।पहिलो दिन औसत रहेको अकुपेन्सी त्यसपछिका दिनमा बढ्दै हाउसफुलसम्म पुगेको छ। कलाकारसहितको टिम विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ। काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

दर्शकले सिनेमालाई मौलिक नेपाली कथा बोकेको भन्दै प्रशंसा गरिरहेका छन्। एउटै परिवारका १०-१५ जनासम्मले एकसाथ सिनेमा हेर्न पुगेको निर्माण पक्षले जनाएको छ। साथै, हलहरूमा पुरुषभन्दा महिला दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढी देखिएको छ।

सिनेमा ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। डा. भोला रिजालको कथामा आधारित सिनेमाको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमाको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्।

सम्बन्धित समाचारसबै