सिनेसुत्र, बिराटनगर- आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली सिनेमा ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो सफलता प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको हो। नेपाली कला क्षेत्र र सिनेमा उद्योगमा एकदमै दुर्लभ मानिने सफलता हासिल गर्दै, यो गीत सार्वजनिक भएको ४८ घण्टा नबित्दै टिकटकमा ५० हजारभन्दा बढी भिडियोहरू बनिसकेका छन्।
यति छोटो अवधिमा यो स्तरको भाइरल हुनुले गीतको लोकप्रियता छ्यापछ्याप्ती र सर्वव्यापी भएको प्रमाणित गर्छ। टिकटकसँगै ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भएको यस भिडियोले ६ लाखभन्दा बढी भ्यूज पार गरिसकेको छ र यसको हेरिने औसत दर अझै तीव्र गतिमा बढिरहेको छ।
लोक फ्लेभरमा तयार पारिएको यो गीत यतिबेला हरेक पुस्ताका दर्शक तथा स्रोताको रोजाइमा परेको छ। टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूले समेत यसको हुक-स्टेपमा भिडियो बनाइरहेका छन्। छोटो समयमै लाखौँ दर्शकमाझ पुग्नु र टिकटकमा हजारौँको संख्यामा भिडियोहरू निर्माण हुनुले सिनेमाको बलियो हाइप सिर्जना गरेको छ। पोस्टर र पहिलो गीतले नै बजारमा हंगामा मच्चाएपछि यसको व्यापारिक र समीक्षात्मक सुखद यात्राको अनुमान सुरु भइसकेको छ।
यस सिनेमाका प्रस्तुतकर्ता समेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीतमा रहेको यो गीतमा लोकप्रिय गायिका अञ्जु पन्तको साथमा चर्चित गायकहरू प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य रहेको छ भने कोरियोग्राफी सियोन श्रेष्ठको रहेको छ। विशेष गरी भिडियोमा पारस र दिव्या बेहुला-बेहुलीको आकर्षक भेषमा देखिएका छन्, जसले सिनेमाको मुख्य विषयवस्तु विवाह र यसको सेरोफेरोमा केन्द्रित रहेको स्पष्ट संकेत गर्दछ। यसमा अभिनेता सुशान्त कार्की र पदम तामाङको ‘सरप्राइज इन्ट्री’ रहेको छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस सिनेमामा पारस, दिव्या, सुशान्त र पदमको साथमा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस सिनेमामा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस सिनेमाका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन्। यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।