सिनेसुत्र, बिराटनगर- १३औँ दिनसम्म सफलतापूर्वक प्रदर्शनरत नेपाली सिनेमा ‘गौँथली’ को कोशी प्रदेश प्रचार–प्रसार अभियानअन्तर्गत प्रमुख कलाकार नायिका सिम्रन खड्का (गौँथली), नायक अरुण क्षेत्री (ठुले) तथा सह–निर्माता गिरिराज घिमिरे सहितको टोली बुधबार विराटनगर पुगेको छ।
डा. कपिल रिजाल निर्देशित सिनेमा ‘गौँथली’ सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो। अटिजमप्रति समाजमा विद्यमान चेतनाको अभाव, बालविवाहजस्ता गम्भीर सामाजिक समस्यालाई भावनात्मक र यथार्थपरक ढंगले प्रस्तुत गरिएको यस सिनेमाले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ। चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको आयोजनामा तथा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाको संयोजनमा विराटनगरस्थित ह्याप्पी आवर हेभेन रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा कलाकारहरूले सिनेमाको निर्माण यात्रा, अभिनय अनुभव र दर्शकबाट प्राप्त मायाबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साहले सिनेमा ‘गौँथली’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको अर्थपूर्ण सिनेमा भएको उल्लेख गर्दै यस्ता विषयवस्तुमा आधारित सिनेमालाई दर्शकले साथ दिनु नेपाली सिनेमाका लागि सकारात्मक संकेत भएको बताए। उनले सशक्त कथा र प्रभावशाली प्रस्तुतिमार्फत समाजमा बहस सिर्जना गर्न सफल सिनेमालाई निरन्तर साथ दिन दर्शकसँग आग्रह गरे।
त्यस्तै, चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखाका अध्यक्ष प्रेम देवानले नेपाली सिनेमाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर निर्माण हुने क्रम बढ्दै गएको उल्लेख गर्दै ‘गौँथली’ त्यही धारको उत्कृष्ट उदाहरण भएको बताए। उनले कोशी प्रदेशका दर्शकले देखाएको उत्साहले राम्रो कथावस्तु भएका सिनेमाप्रति दर्शकको विश्वास अझ मजबुत बनेको प्रतिक्रिया दिए।
निर्माण टिमका अनुसार सिनेमा ‘गौँथली’ दोस्रो सातामा प्रवेश गर्दासम्म १० करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। देशभरका अधिकांश प्रदर्शन केन्द्रमा सिनेमाले उत्साहजनक व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ।
विराटनगरका सेन्ट्रल मल्टिप्लेक्स र सिटी सिनेमा दुवै हलमा बुधबार दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो। दुवै प्रदर्शन केन्द्रका अधिकांश शो हाउसफुल भएपछि कलाकार टोली हलमै पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको साथ र मायाका लागि धन्यवाद व्यक्त गरेको थियो। दर्शकहरूले कलाकारसँग तस्बिर खिच्दै सिनेमाप्रतिको उत्साह पनि व्यक्त गरेका थिए।
पत्रकार भेटघाट तथा संवाद कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका महासचिव विकल श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा चलचित्र पत्रकार, सञ्चारकर्मी तथा सिनेप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विराटनगरको कार्यक्रम सम्पन्न गरेपछि ‘गौँथली’ टोली प्रचार अभियानलाई निरन्तरता दिँदै इटहरी, धरान हुँदै चितवन पुगेर त्यहाँका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जनाएको छ।