तीजको रौनकसँगै सार्वजनिक भयो सिनेमा ‘अक्षरा’को ‘नाचौं बरिलै’ गीत

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अक्षरा’को तीज गीत ‘नाचौं बरिलै’ रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा सिनेकर्मीको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा सिनेमामा समावेश गीत ‘नाचौं बरिलै’को भिडियो सार्वजनिक गरेको हो। उक्त गीतको भिडियो मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। समिक्षा अधिकारीको स्वर रहेको यस गीतमा शब्द सुरेन्द्र रानाको रहेको छ भने संगीत कर्णराज गिरीले भरेका छन्।

लोकलयमा आधारित यस गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेत्रीहरू न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। उनीहरूको प्रस्तुतिलाई कार्यक्रममा उपस्थित पत्रकार तथा सिनेकर्मीहरूले मन पराएका थिए। रामजी लामिछानेको कोरियोग्राफी रहेको यस सिनेमालाई विनयराज पौडेलले निर्देशन गरेका हुन्।सिनेमामा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। सिनेमाका बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। सिनेमाको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका हुन्।

सिनेमाका गीतहरूमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको छ भने गायनमा अञ्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। दीपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।यस सिनेमाका गीत तथा प्रचारप्रसार सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत हेर्न सकिनेछ। सिनेमाका सम्पूर्ण डिजिटल सामग्रीहरू पनि मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ। केही दिनअघि सिनेमाको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक सम्झौता भएको थियो। आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने सिनेमा ‘अक्षरा’प्रति निर्माण पक्ष उत्साहित देखिएको छ।

 

सम्बन्धित समाचारसबै