कान्स विजेता ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक : भदौ १९ मा आउँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा सन्तान हराएको पीडा, आमाको संघर्ष, हतासपन, आक्रोश र जंगली हात्तीको त्रासमा बाँचिरहेको गाउँको कथा प्रस्तुत गरिएको छ। ट्रेलरमा हात्ती प्रत्यक्ष नदेखिए पनि त्यसको आतंकले गाउँलेको जीवनमा पारेको प्रभाव प्रभावशाली रूपमा देखाइएको छ।

प्रहरीसँग छोरी अप्सराको खोजी गरिदिन गरिएको आग्रह, आफन्तकै शंका र छोरीको खोजीमा आमाले गरेको अथक संघर्ष ट्रेलरको मुख्य आकर्षण बनेको छ। आकर्षक बिटमा तयार गरिएको गीतमा तेस्रोलिंगी समुदायका व्यक्तिहरूको नृत्यसमेत समावेश गरिएको छ। भोजपुरी शैलीको लयमा आधारित संगीत र तालले ट्रेलरलाई थप रोचक बनाएको छ।केही पात्रको बलि चढाइरहेको जस्तो देखिने दृश्यले ट्रेलरमा रहस्य र सस्पेन्स थपेको छ। सिनेमा ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’ विश्वप्रसिद्ध कान्स सिनेमा फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै उल्लेखनीय सफलता हासिल गरेपछि अब नेपाली दर्शकमाझ प्रदर्शनको तयारीमा रहेको हो।

निर्देशक अविनाश विक्रम शाहको निर्देशनमा बनेको यस सिनेमाले कान्समा जुरी च्वाइस अवार्ड जितेपछि घरेलु दर्शकमाझ पनि ठूलो प्रतीक्षा सिर्जना गरेको छ। जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरिएको सिनेमामा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

यो सिनेमा नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो। नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्। सहनिर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको सिनेमाका एसोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सहनिर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माता रहेका छन्।

निर्देशक अविनाश विक्रम शाहकै पटकथा रहेको सिनेमाको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्। सार्वजनिक म्युजिकल ट्रेलरमा समावेश गीतमा लव कर्णको शब्द तथा शिवानी भगत र देव अहिररावको स्वर रहेको छ। यसअघि आफ्नो लघु सिनेमा ‘लोरी’बाट कान्समा पुरस्कार जितिसकेका निर्देशक अविनाश ‘कालो पोथी’, ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकारका रूपमा पनि परिचित छन्।

सम्बन्धित समाचारसबै