सिनेमा ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज : पञ्चेबाजाको धुनमा केकी अधिकारीको डान्स

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ १९ गते प्रदर्शनमा आउने सिनेमा ‘बा : एक योद्धा’को नयाँ लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार गीत सार्वजनिक गर्दै सिनेमाको सांगीतिक प्रचारलाई थप तीव्र बनाएको हो।

गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ भने समीक्षा अधिकारी र सागर आलेको स्वर सुन्न सकिन्छ। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको गीतले नेपाली विवाह र उत्सवको झल्को दिन्छ। सार्वजनिक भिडियोमा एक सुन्दर युवतीप्रति आकर्षित युवकले विवाहको प्रस्ताव राखेको देखाइएको छ। तर युवतीले आफू बुवाआमाले रोजेको केटासँग नै विवाह गर्ने बताउँदै प्रस्ताव अस्वीकार गर्छिन्।

युवकले सरकारी जागिरको प्रलोभन देखाएपछि युवतीले घमण्ड बोकेको व्यक्तिसँग विवाह गर्न नसक्ने स्पष्ट जवाफ दिएसँगै गीत टुंगिन्छ। पञ्चेबाजाको लयमा तयार गरिएको यस गीतको भिडियोमा केकी अधिकारी र करण साहको आकर्षक नृत्य देख्न सकिन्छ।यसअघि सिनेमाको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। परिवारका सन्तानको उज्ज्वल भविष्यका लागि एक बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा ‘बा : एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउनेछ।

सिनेमामा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो सिनेमा कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका हरि लम्सालका लागि फिचर सिनेमा निर्देशनको यो पहिलो अनुभव हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका छन्।

सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह-निर्माता रहेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै