ब्लकबस्टर निर्देशक दीपक आचार्यको नयाँ सिनेमा ‘चिरञ्जीवी भवः’को ५१ दिने छायांकन सकियो

0 Shares

सिनेसुत्र, बिराटनगर- ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को सिनेमा ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा सिनेमाको छायांकन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा सिनेमाको छायांकन भएको थियो ।

गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर सिनेमा ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली सिनेमा बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो सिनेमा कस्तो हुनेछ भन्ने धेरैमा प्रतीक्षा छ ।

“हामीले मन खोलेर समय लगाएर सिनेमाको छायांकन गरेका छौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” निर्देशक आचार्यले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने सिनेमा लिएर आउनेछौँ ।

यो सिनेमामा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले सिनेमा निर्माण गरेका छन् । यो सिनेमामा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिस्मा मानन्धर, नायक आशीर्वाद क्षेत्री, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् ।यस्तै, सिनेमामा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलले तयार पारेको कथामा सविन अधिकारी र वसन्त न्यौपानेको कथा लेखन रहेको छ । सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको सिनेमामा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

निर्देशक दीपक आचार्य आफैँले यस सिनेमाको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहभागिता रहनेछ । सिनेमामा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरीको संगीत रहेको छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् । त्यस्तै, सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपानेले गरेका छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

यो सिनेमा २०८३ माघ १ गते (१५ जनवरी) बाट देशभरका हलमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

सम्बन्धित समाचारसबै