सिनेसुत्र, बिराटनगर- आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो। बाबुल गिरीको शब्द, संगीत तथा स्वर रहेको गीतमा अशोक दर्जीको पनि स्वर रहेको छ। उनी यस सिनेमाका अभिनेता समेत हुन्। सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय गरेका छन्।
कारुणिक भाव व्यक्त गरिएको गीतमा दिदी-भाइको माया प्रस्तुत गरिएको छ। रक्षाबन्धनको समयमा दिदी-भाइबीचको मायालाई समेटिएको गीतले दर्शकलाई भावुक बनाउन सक्ने देखिन्छ। गीतका शब्द र भिडियोबीचको तालमेल पनि आकर्षक देखिएको छ।
नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस सिनेमाको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा सिनेमामा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको मुख्य अभिनय रहेको छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस सिनेमाको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको सिनेमाको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्। सिनेमाको प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। सिनेमाको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्।
रोयल भीमसेनले पोस्टर डिजाइन गरेको सिनेमाको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
यसअघि सिनेमाको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीत रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ। चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।