‘लुट’को हिट जोडी दयाहाङ र सौगातको पुनर्मिलन : दयाहाङ राई ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक सौरभ चौधरीले नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गरेका हुन् । नेपाली रजतपटको यो हिट जोडी हो । ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेताको प्रवेशसँगै यो सिनेमा प्रतिक्षित बन्ने देखिएको छ । दयाहाङ र सौगात एउटै सिनेमामा देखिँदा दर्शकमा उत्साह र कौतुहलता थपिने गरेको छ ।

हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो सिनेमामा भित्र्याएका छौँ । यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ, सौरभले भने, हामी यो पटक हाम्रो सिनेमालाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो ।

दयाहाङ र सौगातको प्रवेश तथा सौरभको भनाइले यो सिनेमाको लाइनअप निकै बलियो हुने देखिएको छ । निर्देशक सौरभले दयाहाङसँग पहिलो पटक सहकार्य गर्न लागेका हुन् । यस सिनेमामा दयाहाङलाई भिन्न चरित्रमा देख्न पाइने सौरभको भनाइ छ ।डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा मल्टीस्टार बन्ने पनि निश्चित भएको छ । यो सिनेमामा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीले बताएका छन् ।

सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा खिच्ने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ । सिनेमाको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

यो सिनेमाका निर्माता प्रवेश चौधरी र निला देव हुन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने यो सिनेमाको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । सिनेमाको वितरकमा डिसीएन रहेको छ ।

सम्बन्धित समाचारसबै