सिनेसुत्र, बिराटनगर- धेरै राम्रो सन्देश बोकेको लोक संस्कारयुक्त गीत रहेछ । जसले १० मा ८ स्कोर पाउँछ मबाट । छुटाउँदा अन्याय भइजाने त ‘भुइँ नबिर्स’ नै हो, जसलाई १० मा ९.९९ घटाउँदैन, टेकेन कँडेलले युट्युबमा हेरेर दिएको यो प्रतिक्रियाले सिनेमा ‘बा : एक योद्धा’का गीतप्रतिको दर्शकको माया देखाउँछ ।
कँडेलले सिनेमा ‘बा : एक योद्धा’का दुई गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सुनेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । यस्तै, सिबी राना मगरले पनि ‘नभन्नू कोइसित’ गीत मन परेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, धेरै पछि पञ्चेबाजाको नयाँ गीत, आहा ! सागर आले र समीक्षा अधिकारीको स्वरमा आहा ।
‘बा : एक योद्धा’का गीत हेरेर तथा सुनेर आएका यस्ता थुप्रै सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ । दर्शकको प्रतिक्रियासँगै सिनेमाको प्रचारप्रसारसमेत तीव्र पारिएको छ । केही दिनअघि निर्माण टिमले लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको थियो । त्यसअघि सिनेमाको शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो । दुवै गीतले दर्शक तथा संगीतप्रेमीबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।
‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई सिनेमाको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ । सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका लम्साल रचनाकार तथा गायकसमेत हुन् । फिचर सिनेमातर्फ भने ‘बा : एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा पनि लम्साल स्वयंले लेखेका हुन् ।
सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह-निर्माता रहेका छन् । शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।