सन्तानले दिएको चोटपछि बुवाको कठोर निर्णय : ‘बा : एक योद्धा’को ट्रेलरमा सस्पेन्स

0 Shares

सिनेसुत्र, बिराटनगर- हरि लम्साल निर्देशित सिनेमा ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ। बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ। आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तोसुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने सन्देश ट्रेलरले दिएको छ।

आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमाको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो कालखण्डको यथार्थ ट्रेलरमा प्रस्तुत गरिएको छ। आफू जन्मिएको र हुर्किएको भूमि तथा आफूलाई योग्य बनाउने बाबुआमालाई भुल्ने र केही नगन्ने प्रवृत्ति हाबी भइरहेको बेला त्यसैको यथार्थ कथा ट्रेलरमा देखिन्छ।

आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घरसमेत बेच्न तयार हुने बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम ट्रेलरमा देखाइएको छ। आफ्नै सन्तानले दिएको चोट सहन नसकेपछिको पीडा र कठोर निर्णयलाई भने ट्रेलरले सस्पेन्समा राखेको छ।जब खुसी हराउँछ र परिवार टुक्रिन्छ, अनि केही बाँकी रहँदैन। केही नरहेपछि परिवारको मुख्य मुली तथा सिनेमाको मुख्य पात्रले के गर्छ ? यही सस्पेन्सले दर्शकमा कौतुहलता जगाएको छ। सिनेमाको क्लाइमेक्समा के हुन्छ भन्ने प्रश्न जन्माउँदै ट्रेलर सकिएको छ। सिनेमा ‘बा : एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ।

नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको निर्माण पक्षले बताएको छ। यस सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बा : एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्।

फिचर सिनेमामा भने ‘बा : एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्। सिनेमा ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् भने अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। भदौ १९ गते रिलिज हुने ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै