सिनेसुत्र, बिराटनगर- नायक पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको सिनेमा ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, सिनेमाको प्रदर्शन अधिकार हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा गरिएको हो ।
अन्य देशबाट पनि सिनेमा रिलिजका लागि कुरा भइरहेको भन्दै निर्माणपक्षले चाँडै नै फाइनल हुने उल्लेख गरेको छ । सिनेमा ‘मोहर’पछि विदेशी बजारमा पलको क्रेज ह्वात्तै बढेको छ । पलले नै अभिनय गरेको सिनेमा ‘आ बाट आमा’ले पनि विदेशी बजारमा सुखद व्यापार गरेको थियो । सिनेमा ‘यानीमाया’ पनि घोषणा भएसँगै चर्चामा छ । यो सिनेमाको ४० दिनको सेड्यूल तय गर्दै छायांकन भइरहेको छ ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको यो सिनेमामा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सिनेमामा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरुको रुपमा छन् । चन्द्र ज्योती आले र पल शाहको लगानीमा तयार हुन लागेको यो सिनेमामा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
विशाल कार्कीको निर्माण व्यवस्थापन रहने सिनेमामा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर, आशिष पौडेलको पोशाक डिजाइन रहनेछ । सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो सिनेमालाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । गुन्डुको छायांकन सकेपछि यसको निर्माणपक्ष पर्वत जानेछ ।