



सिनेसुत्र,बिराटनगर – तीजको अवसर पारेर आगामी भदौ २१ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘रावायण’को एक आइटम गीत सार्वजनिक भएको छ।
‘करेजा निकरी’ शीर्षकको गित भोजपुरी भाषामा तयार पारिएको छ। भारतीय गायिका सोनु कक्कड र गायक समीर चौरासियाले उक्त गीतमा आवाज दिएका छन्।
रेवन आरती सिंहको संगीत रहेको उक्त गीतको शब्द रचना प्रदीप श्रीवास्तवले गरेका हुन्।
गीतको भिडियोमा पूर्व मिस नेपाल निकिता चाण्डक, पल शाह र प्रकाश शाहलाई फिचर गरिएको छ।
गीतमा पल र प्रकाशबीचको टकरावलाई देखाउन खोजिएको छ, भने निकितालाई पहिलोपटक बोल्ड अवतारमा आइटम डान्स गर्दै गरेको देख्न सकिन्छ।
निकिता यस सिनेमामा केवल यसै गीतको भिडियोमा मात्र देखिनेछिन्।
तराईको मध्य मधेशको गाउँलाई सेटअप बनाई यो गीतको भिडियो खिचिएको छ, जहाँ सयौं कोरस कलाकारलाई उतारिएको छ।
विक्रम सावरले यस गीतको भिडियोलाइ कोरियोग्राफी गरेका हुन्।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता पूजा शर्मा हुन्।
सुशन पाठक कार्यकारी निर्माता रहेको यो सिनेमाका निर्देशक सुदर्शन थापा हुन्।
सिनेमामा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।