सिनेसुत्र, बिराटनगर- असोजको २ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ। ७ मिनेट लामो यो गीतमा सिनेमाका मुख्य दुई पात्रबिचको झगडा प्रस्तुत गरिएको छ। सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य दुई कलाकारहरू केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ। यो सिनेमामा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन्। गीतमा प्रयोग गरिएका लाइनहरू सामाजिक सञ्जालमा चर्चित हुने देखिन्छ।
गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। नायिकाद्वय केकी र आँचल गीतले दर्शकको लोभलाग्दो साथ पाउनेमा विश्वस्त देखिएका छन्। कपनगढी सिनेमा प्रा.लि र सिनेमा क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको यो सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सिनेमाका सह-निर्माता हुन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। सिनेमाका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
सिनेमामा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरूको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। सिनेमाको टिजरले दर्शकको ध्यान तानिसकेको छ। सिनेमाको ट्रेलर केही दिनमा रिलिज हुनेछ।