सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बेहुली’ले प्रदर्शनको पहिलो र दोस्रो हप्तामा उत्साहजनक व्यापार गर्दै तेस्रो हप्तामा प्रवेश गरेको छ। दर्शकको राम्रो साथ पाइरहेको सिनेमाले हालसम्म करिब तीन करोड रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार सिनेमाले प्रदर्शनको सुरुवाती दिनदेखि नै देशभरका हलमा राम्रो दर्शक पाउँदै आएको छ। पहिलो हप्तामै उत्साहजनक व्यापार गरेको ‘बेहुली’ले दोस्रो हप्तामा पनि आफ्नो पकड कायम राखेको हो।
सिनेमाको व्यापारसँगै मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीको हल भ्रमणले पनि दर्शकमाझ थप उत्साह बढाएको छ। उनीहरू विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। हल भ्रमणका क्रममा कलाकारले दर्शकबाट पाएको प्रतिक्रियाले पनि सिनेमाप्रतिको रुचि बलियो रहेको देखाएको निर्माण पक्षको भनाइ छ।
पारिवारिक सम्बन्ध, युवा पुस्ताको मनोभाव र नेपाली समाजभित्रका भावनात्मक पक्षलाई कथाको आधार बनाइएको ‘बेहुली’लाई दर्शकले मनोरञ्जनसँगै भावनात्मक रूपमा जोडिएको सिनेमाका रूपमा लिएका छन्। सिनेमामा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
माधव शर्माको लेखन तथा सशान कँडेलको निर्देशन रहेको सिनेमाका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् भने प्रताप शमशेर राणा निर्माता छन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्। नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको ‘बेहुली’ अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशमा समेत प्रदर्शन भइरहेको छ।