सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बाः एक योद्धा’ले दश दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको सिनेमाले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो । यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चार/पाँच दिन पछिबाट पिकअप लिएको सिनेमा अहिले उत्साहजनक रुपमा चलिरहेको छ ।
वर्ड अफ माउथ राम्रो हुँदा दर्शकको चाप हरेक दिन बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन् । शो थपिने क्रम बढ्दै गएको छ । सिनेमा राम्रो र हेर्नैपर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ, उनले भने, त्यसैले अबका दिनमा दर्शकले हाम्रो सिनेमालाई थप साथ दिनुहुने हाम्रो विश्वास छ ।
सिनेमाको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई सिनेमाले कथाको केन्द्रमा राखेको छ ।
सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमाको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।
सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माताका रूपमा छन् ।