सिनेसुत्र, बिराटनगर- दशैं, तिहार नजिकिँदै गर्दा विराटनगर तीनपैनीस्थित सिटी सिनेमाजले दर्शकलाई थप आरामदायी र स्तरीय सिनेमा अनुभव प्रदान गर्ने उद्देश्यले सिनेमा घरको स्वरूपमा व्यापक सुधार थालेको छ। रंगरोगन तथा सजावटसँगै इन्टेरियर र सिटमा समेत स्तरोन्नति गरिएको छ।
सिटी सिनेमाजले दर्शकको आरामलाई प्राथमिकतामा राख्दै रिक्लाइनर लक्जरियस सिट जडान गरेको छ। लामो समयसम्म आरामसँग बसेर सिनेमा हेर्न सकिने गरी डिजाइन गरिएको रिक्लाइनर सिटले दर्शकलाई अझ सहज र सुविधायुक्त अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
सिनेमा हलभित्रको एसीका कारण कतिपय अवस्थामा बढी चिसो महसुस हुने अवस्थालाई ध्यानमा राख्दै दर्शकका लागि ओढ्ने ब्ल्यांकेटको समेत व्यवस्था गरिएको छ। त्यस्तै, आवश्यकताअनुसार मुख पुछ्ने रुमाललगायतका सुविधासमेत उपलब्ध गराइएको सिटी सिनेमाजले जनाएको छ। सिटी सिनेमाजका म्यानेजर शंकर मेहताका अनुसार दर्शकलाई केवल सिनेमा देखाउने मात्र नभई उनीहरूको आराम, सुविधा र अनुभवलाई समेत प्राथमिकतामा राखेर व्यवस्थापनमा निरन्तर सुधार गरिँदै आएको छ।
दर्शकले सिनेमा हेर्न आउँदा राम्रो दृश्य र आवाजसँगै आरामदायी वातावरण पनि पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो। त्यसैलाई मध्यनजर गर्दै रिक्लाइनर लक्जरियस सिट, ब्ल्यांकेटलगायतका सुविधाहरू थप गरेका छौं, मेहताले बताए।
सिटी सिनेमाजले यसअघि नै प्रविधिको क्षेत्रमा समेत महत्वपूर्ण स्तरोन्नति गरिसकेको छ। सिनेमा प्रदर्शनलाई अझ गुणस्तरीय बनाउने उद्देश्यले बेल्जियमबाट बार्को फोर के लेजर प्रोजेक्टर आयात गरी उच्च गुणस्तरीय प्रोजेक्सन प्रविधि भित्र्याइएको थियो। प्रोजेक्टर प्रविधिमा गरिएको स्तरोन्नतिपछि अहिले दर्शकको बसाइ र समग्र वातावरणलाई लक्षित गर्दै सिट तथा इन्टेरियरमा समेत सुधार गरिएको हो।
दशैं–तिहारको अवसरमा विभिन्न नयाँ सिनेमा प्रदर्शनमा आउने तयारी भइरहेका बेला सिटी सिनेमाजले गरेको यो स्तरोन्नतिले दर्शकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। विशेषगरी लामो बिदाको समयमा परिवार तथा साथीभाइसँग सिनेमा हेर्न आउने दर्शकका लागि नयाँ रिक्लाइनर सिट र थप सुविधाहरू आकर्षणको केन्द्र बन्ने सिटी सिनेमाजको विश्वास छ। प्रविधि, आराम र सुविधालाई एकसाथ प्राथमिकतामा राख्दै सिटी सिनेमाजले आगामी दिनमा पनि दर्शकको अनुभवलाई अझ उत्कृष्ट बनाउनेतर्फ निरन्तर काम गर्ने जनाएको छ।
