पल र मलिकाको केमेस्ट्रीले जित्यो दर्शकको मन :‘अचेल किन कान्छी’हिट,पर्यो ट्रेण्डिङ वानमा

0 Shares

सिनेसुत्र, बिराटनगर- दर्शकले पल शाह र मलिका महतको जोडीलाई अत्यधिक रुचाएका छन्। सिनेमा ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियोलाई ६० लाख ५० हजारभन्दा बढीले हेरेका छन्। गीतको भिडियो रिलिजको सातौँ दिनमै युट्युबमा ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ।

यो समाचार तयार पार्दासम्म गीतको भिडियोमा एक लाख लाइक गरिएको छ भने ६ हजार ६ सयभन्दा बढी कमेन्ट आएका छन्। कमेन्टकर्ताले पल र मलिकाको जोडीलाई ‘राजारानी’ भन्दै प्रशंसा गरेका छन्। कमेन्टकर्तामध्ये एक प्रेम कुमार लेख्छन्, ‘नेपाली सिनेमा इन्डस्ट्रीका राजा-रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा, यो जोडी एकदमै परफेक्ट जोडी हो। नेपाली सिनेमा क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस्। आउँदा दिनमा पल र मलिकाको जोडीलाई लिएर अझ धेरै राम्रा, स्तरीय र दर्शकको मन छुने सिनेमाहरू हेर्न पाइयोस्।’

दर्शकको चाहनाअनुसार नै सिनेमा निर्देशक चन्द्र पन्तले पल–मलिकाको जोडीलाई सिनेमामा लिएको बताए। उनले भने, ‘दर्शकको मागअनुसार नै हामीले सिनेमाको कथा लेखेका हौँ र सोही जोडीलाई सिनेमामा राख्दा दर्शक खुसी हुनुभएको हो। एक साताअघि ‘अचेल किन कान्छी’ गीत रिलिज भएको थियो। यो सिनेमाको गीतले सर्वाधिक चर्चा पाएको हो। साथै केही दिनमै एक करोड भ्युज पुग्ने संकेत पनि देखिएको छ।

डान्सिङ गीतमा पल शाह, मलिका महतका साथै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। एउटा सामूहिक विवाहमा पल र मलिकाको डान्समा आकाश खलनायक बनेको देखिन्छ। रमाइलो गीतमा उनी किन खलनायकको भूमिकामा देखिए भन्ने प्रश्नको जवाफ अर्को शुक्रबार हलमा देखिनेछ। पल शाह र मलिका महतको यो पहिलो सिनेमा सहकार्य हो।यस गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका हुन्। गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् भने गायन रवि ओड र गंगा सोनामको रहेको छ। गीतमा कोरस गायन शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको सुन्न सकिन्छ। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस सिनेमामा पल शाह, मलिका महत, बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।

यस सिनेमाको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह सिनेमाको प्रोडक्सन एक्जिक्युटिभ रहेका छन्। यस सिनेमामा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। सिनेमाको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने सिनेमालाई आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

सम्बन्धित समाचारसबै