सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आ बाट आमा २’को अर्को गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले प्रचारप्रसारस्वरूप बिहीबार यो गीत युट्युबमार्फत रिलिज गरेको हो। दसैंको माहोल र टीका-जमरा लगाएको कथालाई गीतको भिडियोमा देखाइएको छ।
डान्सिङ गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ, निकिता आचार्यलगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। साथै लाहुरेको भूमिकामा सबिन श्रेष्ठ रहेका छन्। सामूहिक विवाहमा उनीहरूको नाच प्रस्तुत गरिएको छ, जुन दृश्य निकै उत्कृष्ट देखिन्छ। यस गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन्। यस गीतको शब्द रचना तथा संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा बाबुल गिरी र रचना रिमाल रहेका छन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस सिनेमामा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
यस सिनेमाको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस सिनेमामा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। सिनेमाको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने सिनेमालाई आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।