



सिनेसुत्र, बिराटनगर – एक्सन स्टार विराज भट्टको निर्देशन र निर्माणमा बनेको बहुप्रतिक्षित सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ।
‘सिनेमा हेर्न जाउँ’ बोलको यो रोमान्टिक गीतमा अभिनेता विराज पुत्र डेब्यु अभिनेता समीर भट्ट र चर्चित अभिनेत्री सोनु चन्द्रपालले अभिनय गरेका छन्।
गुजराती र दक्षिण भारतीय सिनेमा तथा टेलिभिजनकी चर्चित अभिनेत्री सोनु चन्द्रपाल यस सिनेमाबाट नेपाली सिने जगतमा डेब्यु गर्दैछिन्।
सार्वजनिक गरिएको गीतको भिडियोमा समीर र सोनुको रोमान्टिक केमेस्ट्रीलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार पारिएको गीतमा समीरको डान्सले उनको सिनेमाका लागि गरेको कडा मेहनत देखाउँछ।
यस गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, र बलिउड गायक नकाश अजिजको सुमधुर आवाज सुन्न सकिन्छ।
सिनेमाको यसअघि सार्वजनिक भएको पोस्टर र एक्सन टिजरले नै दर्शकहरूमा अत्यधिक उत्साह जगाइसकेको थियो, जसले गर्दा यो गीतको प्रतीक्षामा रहेका दर्शकले गीत सार्वजनिक भएसँगै समीरको डान्स र एक्सनको खुलेर प्रशंसा गरेका छन्।
यो सिनेमा मार्फत पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन्।
फिल्ममा विराज, समीर, न्यान्सी, सनिशाका साथै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु) लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइनेछ।
विराज भट्ट फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको यो सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री, कविराज गहतराजको कोरियोग्राफी, तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
सिनेमाको कथा स्वयं विराजले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका छन्। एक्सन-थ्रिलर विधामा बनेको यो सिनेमाका लागि भारतका अनुभवी द्वन्द्व निर्देशक स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशनमा साथ दिएका छन्।
महेश पौडेलको छायांकनमा तयार भएको यो सिनेमा काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको हो। सिनेमाको वितरण काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछ।