सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ । बलियो वर्ड अफ माउथ पाएको सिनेमाले बक्सअफिसमा तीन करोडको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार आइतबारसम्म यो सिनेमाले तीन करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
तथ्यांकअनुसार यो सिनेमा हालसम्म एक लाख ७ हजार ५३३ जना दर्शकले हेरेका छन् । अहिले पनि ‘बाः एक योद्धा’ उच्च अकुपेन्सीमा चलिरहेको छ । तेस्रो हप्तामा प्रदर्शन भइरहेको सिनेमा ‘बाः एक योद्धा’ले १० दिनमा करिब एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार आइतबारसम्म यो सिनेमाले तीन करोड ९ लाख रुपैयाँभन्दा बढी व्यापार गरेको छ ।
सिनेमाको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई सिनेमाले कथाको केन्द्रमा राखेको छ । सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमाको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । सिनेमाका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माताका रूपमा छन् ।