सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘गौथली’ले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। सिनेमाका निर्देशक डा. कपिल रिजाल फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा Best Director (Man) विधामा विजेता घोषित भएका छन्।
RED Movie Awards को आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार ‘गौथली’का लागि डा. रिजालले उक्त अवार्ड जितेका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली सिनेमाका निर्देशकले हासिल गरेको यस उपलब्धिले नेपाली सिनेमा क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।
यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली सिनेमाको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस अवसरमा ‘गौथली’लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा सिनेमाप्रेमीप्रति आभार व्यक्त गरिएको छ।
आफ्ना मामाको यो सफलताप्रति खुसी व्यक्त गर्दै परिवारका सदस्य तथा शुभचिन्तकहरूले डा. रिजाललाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्। ‘गौथली’को सफलता एउटा अवार्डमा मात्र सीमित छैन, यो नेपाली सिनेमाप्रतिको माया, विश्वास र सिर्जनात्मक मेहनतको सम्मान पनि हो।