सिनेसुत्र, बिराटनगर- दसैंको अवसर पारेर यही शुक्रबार अर्थात् असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘आ बाट आमा २’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले सिनेमाको मूल कथावस्तुलाई प्रस्तुत गर्दै आमा र छोराबीचको भावनात्मक सम्बन्ध, प्रेम तथा श्रीमान्–श्रीमतीबीचको वियोगलाई मार्मिक ढंगले उजागर गरेको छ।
कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको सम्बन्धलाई इङ्गित गर्दै सुरु हुने ट्रेलर मुख्य रूपमा आमाको खोजीमा छोराले गर्ने सङ्घर्षमा केन्द्रित छ। ट्रेलरको अन्त्यमा अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको अवस्थामा देखाइएको छ, जसले सिनेमाको कथा निकै संवेदनशील र मर्मस्पर्शी रहेको सङ्केत गर्छ।
चन्द्र पन्तको निर्देशनमा निर्माण भएको यस सिनेमामा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, साइग्रेस पोखरेल, निकिता आचार्य, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडा, बेगम नेपाली (भटभटे माइला) र दिवंगत भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) को मुख्य अभिनय रहेको छ। यो सिनेमा अभिनेता रावतको अन्तिम नेपाली सिनेमा समेत हो।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस सिनेमाको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त आफैँले तयार पारेका हुन् भने संवाद सन्तोष भट्टले लेखेका हुन्। प्राविधिक पक्षतर्फ नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्वसङ्गीत तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ। प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासोलाई आधार मान्दै सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।