कुकुरको बच्चा बचाएको पल शाहको दृश्यले छोयो दर्शकको मन : १३ घण्टामै ट्रेन्डिङमा ‘आ बाट आमा २’ को ट्रेलर

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आ बाट आमा २’को ट्रेलर रिलिज भएको १३ घण्टामै ट्रेन्डिङको तेस्रो स्थानमा उक्लिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरले ३२  लाखभन्दा बढी भ्युज पाएको छ। ट्रेलरमा ४२ हजार लाइक र ३ हजार भन्दा बढी कमेन्ट छन्। अधिकांश दर्शकले ट्रेलरप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी पल शाह र मलिका महतको जोडीलाई दर्शकले मन पराएका छन्।

४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा कुकुरको बच्चालाई गाडीले किच्न खोज्दा कृष्ण (पल शाह)ले बचाएको दृश्यले दर्शकको मन छोएको छ। आफ्नो बच्चा बचाउन भुकेको कुकुरको आवाज कसैले नसुनेपछि कृष्णले बच्चालाई बचाएको दृश्यलाई दर्शकले प्रशंसा गरेका छन्। यस्तै, साइग्रेस पोखरेल र आमाको भूमिकामा रहेकी विपना थापाको अभिनयको पनि तारिफ भइरहेको छ।

आधाको भूमिकामा देखिएकी मलिका महतको अभिनय पनि दमदार देखिन्छ। आकाश श्रेष्ठ खलनायकको भूमिकामा रहेको हुन सक्ने अनुमान ट्रेलरले गराएको छ भने गजित विष्ट ग्यारेज साहुको भूमिकामा देखिएका छन्। पैसाको अभाव भएपछि भगवान्सँग हात जोडेर एक लाख रुपैयाँ मागेको दृश्यले पात्रको आर्थिक समस्या र निराशालाई प्रस्तुत गरेको छ।ट्रेलरमा आमाबुबाको सन्तानप्रतिको माया र सन्तानको आमाबुबाप्रतिको प्रेमलाई भावनात्मक रूपमा देखाइएको छ। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको सिनेमा ‘आ बाट आमा २’को ट्रेलरले दर्शकको ध्यान खिचेपछि कलाकार तथा निर्माण टिम पनि उत्साहित देखिएका छन्। सिनेमाको कामलाई फिल्मकर्मीले समेत प्रशंसा गरिरहेका छन्।

यस सिनेमामा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ। सिनेमाको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका छन्।

करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको सिनेमामा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमालाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।

यसअघि प्रदर्शनमा आएको सिनेमा ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। यसको दोस्रो शृङ्खला ‘आ बाट आमा २’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ।

सम्बन्धित समाचारसबै