सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको सर्भाइभल कथामा आधारित यो सिनेमा आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ।
दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो उनको अन्तिम सिनेमा पनि हो। दशकौँसम्म नेपाली सिनेमामा अमूल्य योगदान दिएका थापाको अन्तिम प्रस्तुतिलाई नेपालसँगै अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्याउनु उनको भव्य विरासतप्रतिको सम्मान भएको निर्माण पक्षले जनाएको छ। सिनेमामा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले सिनेमा फरक शैलीमा निर्माण गरिएको बताए। यसमा गीत छैन, तर यसको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, जसले दर्शकलाई सिनेमातर्फ आकर्षित गर्छ। प्राविधिक रूपमा हामीले अन्तर्राष्ट्रिय टिमसँग काम गरेका छौँ, उनले भने।
यो सिनेमा भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै स्थानीय सबटाइटलसहित प्रदर्शन हुनेछ। निर्देशक राजवंशीका अनुसार भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स’ले डबिङको विकल्प दिए पनि सिनेमाको मौलिकता जोगाउन त्यसलाई अस्वीकार गरिएको हो। डब गर्दा सिनेमाको वास्तविक फिल आउँदैन र यसका लागि सही आर्टिस्ट चाहिन्छ। म केही युनिक कुरा र नेपालको मौलिकता विश्वमाझ देखाउन चाहन्थेँ, उनले स्पष्ट पारे।
सिनेमाकी मुख्य अभिनेत्री परीक्षा लिम्बूले यो प्रोजेक्ट आफ्ना अघिल्ला सिनेमाभन्दा नितान्त फरक रहेको बताइन्। मेरा पहिलेका सिनेमा सोसल ड्रामा, फेमिली ड्रामा र लभ स्टोरी थिए। यसमा चाहिँ एउटा मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने सर्भाइभल स्टोरी छ, उनले भनिन्। नेपालमा महिला प्रधान सिनेमा कम बन्ने भएकाले यो प्रोजेक्ट आफ्ना लागि विशेष रहेको उनको भनाइ छ। सुटिङ चुनौतीपूर्ण भए पनि सहज रूपमा सम्पन्न भएको उनले बताइन्।
त्यस्तै, अभिनेता कर्मा शाक्यले नयाँ निर्देशक र नयाँ आइडियामा काम गर्न आफू सधैँ उत्साहित हुने बताए। यो सिनेमाको स्क्रिप्ट नियमित बन्ने नेपाली सिनेमाभन्दा धेरै फरक छ। महिलालाई मुख्य पात्र बनाइएका सिनेमाको पनि बजार छ भनेर बुझ्नुभएकोमा निर्देशकलाई धन्यवाद दिन चाहन्छु, उनले भने।
‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने अवसर पाउने पहिलो नेपाली सिनेमा बनेको छ। मुम्बईमा भारतका शीर्ष वितरक तथा ‘एए फिल्म्स’का संस्थापक अनिल थडानीसँग यसको औपचारिक सम्झौता भइसकेको छ। ‘दिलवाले दुल्हनिया ले जाएंगे, बाहुबली, आरआरआर, केजिएफ: च्याप्टर २ र ‘पुष्पा’जस्ता ब्लकबस्टर सिनेमा वितरण गरेको यस कम्पनीले नेपाली सिनेमालाई भारतभर पुर्याउन लागेको हो। एए फिल्म्सका संस्थापक थडानीले उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पुर्याउनु आफ्नो उद्देश्य रहेको बताएका छन्।
सिनेमाका वितरक तथा निर्माता नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा यसको बलियो सम्भावना रहेको बताए। भारतमा रिलिज गर्न एए फिल्म्सले मन पराएर सम्झौता भइसकेको छ। जापानसहित अन्य देशमा पनि यसलाई मन पराइरहेका छन्, उनले भने। यस्ता सिनेमाले अन्तर्राष्ट्रिय बजार पाउँदा नेपाली सिनेमा उद्योग अझ अगाडि बढ्ने उनको विश्वास छ।