सिनेसुत्र, बिराटनगर- सिनेमा ‘छ माया छपक्कै २’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्ध, वैवाहिक सम्बन्धबाहिरको प्रेम र सन्तान प्राप्तिको विषयलाई हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेता दीपकराज गिरी ‘राजा’ नामको बाइक राइडरको भूमिकामा देखिएका छन्। केकी अधिकारीसँग वैवाहिक जीवन बिताइरहेका राजाको लामो समयसम्म सन्तान हुँदैन। यही परिस्थितिबीच उनको जीवनमा सनिशा भट्टराईसँग प्रेम सम्बन्ध सुरु हुन्छ। कथाले रोचक मोड त्यतिबेला लिन्छ, जब केकी र सनिशा दुवै एकैपटक गर्भवती हुन्छन्। त्यसपछि राजाको पारिवारिक जीवनमा उत्पन्न हुने तनाव, अन्योल र जटिलतालाई ट्रेलरमा हास्यरससहित प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि फरक र प्रभावशाली अवतारमा देखिएकी छन्। उनको भूमिकाले समेत दर्शकमाझ थप कौतूहल सिर्जना गरेको छ। पारिवारिक सम्बन्धभित्रका जटिलता र सामाजिक दृष्टिकोणलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएकाले ट्रेलरले सिनेमाप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको सिनेमाको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। दीपाश्री निरौला कलाकार तथा सल्लाहकारका रूपमा रहेकी छन्। रोहित अधिकारी निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी हुन्।
सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र सनिशा भट्टराईसँगै प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी, कर्मा शाक्य, रिहान गिरी, शारदा गिरी, सन्तोष पौडेल, पार्वती अधिकारी र राधा लम्साललगायत कलाकारको अभिनय रहेको छ।
सुशान प्रजापति, आलोक शुक्ला र विशाल प्रजापतिले छायांकन गरेको सिनेमाको सम्पादन विपीन मल्लले गरेका छन्। किरण थापा नृत्य निर्देशक रहेको सिनेमामा तुजिल कर्माचार्यको संगीत छ। सिनेमा यही असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ।