सिनेसुत्र, बिराटनगर- अभिनेता कर्मा कमै सिनेमामा मात्र नकारात्मक भूमिकामा देखिएका छन् । तर, जतिमा देखिएका छन्, ती भूमिका दर्शकले उत्तिकै मन पराइरहेका छन् । यिनै कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने सिनेमा ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन् । जुन भूमिका उनकै भनाइमा परिस्थितिअनुसार पात्रले निभाउँछ । कर्मा आफ्नो चरित्रलाई पहिलाको भाषामा ‘गुण्डा’को ट्याग दिन्छन् । ‘मेरो चरित्र नै नेगेटिभ सेडको छ ।
पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गर्यो,’ कर्मा भन्छन्, ‘मेरो क्यारेक्टरले पनि परिस्थितिअनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । योभन्दा अगाडि ‘लुट’मा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरू एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन् । तर त्यो काम भनेको परिस्थितिअनुसार हुँदै जाने हो नि ।’
कर्मा सिनेमा ‘हिमालयन गोल्ड’को अनुभव रमाइलो रहेको सुनाउँछन् । ‘निर्देशक धिराज राजवंशीको यो पहिलो सिनेमा हो । यसको स्क्रिप्ट, मसँगै अन्य पात्रहरू, सबै कुराहरू नै पृथक् छन् । मैले गर्न खोजिरहेका सिनेमाहरूमध्ये ‘हिमालयन गोल्ड’ पनि एक हो । किनकि यसको कथावस्तु र प्रेजेन्टेसन पनि पृथक् छ,’ उनी भन्छन् ।
कर्माले यसअघि धिराजका बुवासँग सिनेमा ‘शेरबहादुर’मा सहकार्य गरेका रहेछन् । उनका बुवासँग काम गरेको अनुभवले पनि कर्मालाई धिराजसँग सहकार्य गर्न सजिलो भएको रहेछ । निर्देशक धिराजले आफूलाई कथा सुनाउँदा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि बताएकोले सिनेमामा काम गर्न सजिलो भएको उनले बताए ।
कर्मा ‘हिमालयन गोल्ड’भन्दा अघि पनि मुस्ताङ र डोल्पा पुगेका रहेछन् । ‘त्यतिबेला म प्रत्यक्ष रूपमा यार्सागुम्बा टिप्ने ठाउँसम्म नै पुगेको त थिइनँ । तर पुग्ने मानिसहरूसँग मैले घुलमिल गरेको थिएँ । ९० को दशकपछि नै यार्सागुम्बा विश्वबजारमा फैलन थालेको हो । यो सिजनमा टिप्ने बेलामा म डोल्पामै हुँदा स्कुल बन्द गरेर बच्चाबच्चासहित ठूलो समूह यार्सागुम्बा टिप्न गएको देखेको छु । बच्चाहरूलाई लिएर जाने कारण चाहिँ बच्चाको आँखा तेजिलो हुन्छ भन्ने रहेछ । जसकारण स-साना यार्सागुम्बाहरू पनि टिप्न सजिलो हुँदो रहेछ,’ उनले भने, ‘मैले स्थानीयसँग कुरा गर्दा पहिला-पहिला लुटपाट र झगडा पनि हुन्थ्यो रे । अहिले अलिक व्यवस्थित छ । नेपाली सेनाहरू यार्सागुम्बा टिप्नुभन्दा अगाडि नै लेकमा पुगिसकेका हुन्छन् । मान्छेको समूहअनुसार यार्सागुम्बा टिप्ने डाँडा छुट्याइएको हुन्छ । पोखरा, काठमाडौं, सुर्खेतबाट आएका मान्छेहरूले यार्सागुम्बा टिप्नका लागि टिकट लिन्छन् । यहाँबाट आएका कतिपय मान्छेहरू लेक लागेर बिरामी भएको पनि देखेको छु ।’
कर्माले यार्सागुम्बाकै विषयमा एरिक भ्यालीले निर्माण गरेको डकुमेन्ट्री र अन्य निर्देशकका डकुमेन्ट्री हेरेकाले पनि यार्सागुम्बाका विषयमा धेरथोर जानकारी भएको बताए । ‘अहिले त यार्सागुम्बा भनेर एउटा पेयपदार्थ नै बनाइएको छ । विश्वमाझ नै यार्सागुम्बालाई शक्ति प्रदान गर्ने औषधिका रूपमा चित्रण गरिएको छ,’ कर्मा भन्छन् ।
कर्माको अनुभवमा मुस्ताङको लोकेसन नै यो सिनेमाको सुटिङका लागि चुनौती थियो । ‘ट्रेलरमा देखाइएको जुन गुफामा हामीले सुट गरेका छौँ, त्यो चाहिँ हाइ अल्टिच्युडमा थियो । त्यति उच्च स्थानमा रहेको गुफामा सुटिङ गर्नु आफैँमा चुनौती थियो । त्यहाँ धुलो उड्नेदेखि अक्सिजन नपुग्नेसम्मका चुनौती थिए । त्यस्ता चुनौतीका बाबजुद पनि सुटिङ गर्यौँ । हामीले त्यो गुफामा झन्डै पाँच दिन लगाएर एक्सन दृश्य सुट गर्यौँ,’ उनले सम्झिए ।
सिनेमामा परीक्षा लिम्बुले निभाएको फिमेल लिड प्रोटागोनिस्ट चरित्र, सुनिल थापाको अभिनयसँगै कथाको दृष्टिकोणले पनि ‘हिमालयन गोल्ड’ हेर्नुपर्ने कर्माको तर्क छ । ‘अझ रोचक कुरा त के भने यो सिनेमामा गीत नै छैन । गीतबिनाको कथात्मक सिनेमा हेर्न चाहनेका लागि ‘हिमालयन गोल्ड’ उपयुक्त सिनेमा बनेको छ,’ उनी भन्छन् ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा कर्मा शाक्यसँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ ।
यो सिनेमाको सबैभन्दा भावनात्मक पक्ष नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम सिनेमा हुनु हो । निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुने भनाइ छ ।
हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर सिनेमाले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई मुख्य कथावस्तु बनाएको छ । यो सिनेमाका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द्र डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी रहेका छन् ।
निर्देशक राजवंशीकै कथा रहेको सिनेमामा दीपेन्द्र गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डीओपी, निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भीएफएक्स रहेको छ ।
यो सिनेमालाई भारतको प्रतिष्ठित वितरक एए फिल्म्सले भारतमा प्रदर्शन गर्ने भएको छ । एए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’जस्ता सिनेमा वितरण गरेको थियो । मिडल इस्टमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गर्ने सिनेमालाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ । जापानमा ‘टोकियो ड्रिम इन्टरटेनमेन्ट’ वितरक रहेको छ ।
निर्माण टिमका अनुसार नेपाली सिनेमाले यति ठूलो वितरकमार्फत भारतव्यापी प्रदर्शन पाउनु यो पहिलो पटक हो । थडानीले सिनेमाको कथावस्तुले भाषा र भौगोलिक सीमा पार गरेर दर्शकसँग जोडिन सक्ने विश्वास व्यक्त गरेका छन् ।