सुब्रत आचार्यको ‘पच्चीस पच्चीस’ मा कलाकारको जम्बो टोली : छायांकनमा जाने तयारीमा सिनेमा

0 Shares

सिनेसुत्र, बिराटनगर- कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको सिनेमा ‘पच्चीस पच्चीस’ का कलाकारको लाइनअप पूरा भएको छ। साउनमा आधिकारिक रूपमा निर्माणको घोषणा गरिएको सिनेमा अब छिट्टै छायांकनमा जाने तयारीमा छ।

सिनेमामा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ यही सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन्।

सिनेमा सामाजिक-कमेडी विधामा निर्माण हुन लागेको हो। यसले भरपुर मनोरञ्जनका साथै उत्कृष्ट सामाजिक-कमेडी कथा पस्कने दाबी निर्माण पक्षले गरेको छ। निर्देशक आचार्यले सिनेमा नेपाली माटो सुहाउँदो हुने बताएका छन्।

सुब्रत आचार्यको निर्देशन रहने यो उनको तेस्रो सिनेमा हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ निर्देशन गरिसकेका छन्। सिनेमाको कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको रहनेछ।

सिनेमाका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ बाट सिनेमा निर्माणमा आएका कार्कीको यो दोस्रो सिनेमा हो। कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन्। धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसर छन्।

सम्बन्धित समाचारसबै