सिनेसुत्र, बिराटनगर- एक्सन लभस्टोरी विधामा निर्माण हुने सिनेमा ‘मोहनी’को छायाङ्कन आजदेखि चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो सिनेमा एक्सन र प्रेमकथामा आधारित हुनेछ ।
मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायाङ्कन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिएका छन् । उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ ।
‘कथाको मागअनुसार नै हामीले कलाकार छनोट गरेर सिनेमाको छायाङ्कन आजदेखि सुरु गरेका छौँ । दर्शकसम्म एउटा राम्रो सिनेमा पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, निर्माता विजयले भने ।
सिनेमामा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झालगायत कलाकारको अभिनय रहनेछ ।
सिनेमाको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । सिनेमाका निर्माता पनि विजय नै हुन् । सिनेमामा महेश पौडेलको छायाङ्कन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ । सिनेमामा मुख्य सहायक निर्देशकका रूपमा तारानाथ न्यौपाने र प्रोडक्सन म्यानेजरमा तेजबिक्रम केसी छन् ।
