सिनेसुत्र, बिराटनगर- कलाकार सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा सामान्य सिनेमाभन्दा धेरै माथि छ । यो त्यस्तो प्रोजेक्ट हो, जसबाट उनी दुर्घटनाका कारण टाढिनुपर्यो, अर्का कलाकारलाई उनको ठाउँमा अनुबन्ध गरिएको देखे, सहायक भूमिकाबाट फेरि सिनेमासँग जोडिए र अन्ततः पुनः मुख्य पात्रकै रूपमा फर्किए ।
सन् २०२५ को जुनमा ‘ऐरी’को एक्सन दृश्य छायांकनका क्रममा ढोरपाटनमा दुर्घटनामा परेपछि सोनमको देब्रे खुट्टा भाँचियो । हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइएका उनलाई चिकित्सकले कम्तीमा छ महिना आराम गर्न सुझाए । त्यो समय सोनमका लागि शारीरिक पीडासँगै व्यावसायिक रूपमा पनि कठिन थियो । उनी ‘जलाकी’को मुख्य भूमिकाका लागि तयारीमा थिए । तर दुर्घटनापछि उनले त्यो प्रोजेक्ट छाड्नुपर्यो ।
धीरज मगर ‘जलाकी’मा जोडिँदा म खुसी पनि थिएँ । तर आफूचाहिँ सिनेमामा नरहेकोमा स्याड भएर बसिरहेको थिएँ, सोनमले सुनाए । निर्माण टिमले उनको ठाउँमा धीरज मगरलाई अनुबन्ध गरिसकेको थियो । सोनमका लागि आफूले मन पराएको कथा र पात्रबाट अलग हुनुपर्नु सहज थिएन । तर सिनेमासँगको उनको सम्बन्ध त्यति छिट्टै टुटेन ।
निर्देशक अशोक थापा मगरले उनलाई सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव गरे । मुख्य भूमिकाबाट बाहिरिए पनि सिनेमाकै एउटा हिस्साका रूपमा फर्किन पाउने भएपछि सोनमले प्रस्ताव स्वीकारे ।
यता ‘जलाकी’को छायांकन पूर्वनिर्धारित समयमै सुरु हुन सकेन । समय बित्दै जाँदा सोनमको स्वास्थ्यमा पनि सुधार हुँदै गयो । महिनौँको फिजियोथेरापीपछि उनी विस्तारै सामान्य अवस्थामा फर्किए । त्यसपछि परिस्थितिले फेरि मोड लियो । धीरज र निर्माण टिमबीचको समझदारीपछि सोनम मुख्य भूमिकामै फर्किए । जुन सिनेमाबाट उनी दुर्घटनाका कारण बाहिरिएका थिए, त्यही सिनेमामा उनी फेरि मुख्य पात्र ‘लाजिम’ बनेर उभिए ।
सोनमका लागि यो संयोग मात्र होइन, आफूले चाहेको कथासँग पुनः जोडिने अवसर पनि हो । सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ,” उनी भन्छन्, “बीचमा दुर्घटनाले मलाई टाढा पुर्याए पनि फेरि यही सिनेमामा फर्किएँ ।
‘जलाकी’सँग सोनमको सम्बन्ध जोडिनुको अर्को कारण उनको अघिल्लो काम पनि हो । ‘शाम्बाला’मा उनको अभिनय मन पराएका निर्देशक अशोक थापा मगरले उनलाई ‘जलाकी’का लागि प्रस्ताव गरेका थिए । त्यसैले सुरुदेखि नै यो प्रोजेक्ट उनका लागि विशेष थियो ।
तर ‘जलाकी’ सोनमका लागि केवल दुर्घटना र पुनरागमनको कथा होइन । यो उनको कलाकारिता र व्यक्तिगत पहिचानसँग पनि जोडिएको सिनेमा हो । भारतको मनालीमा जन्मिएका सोनमले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए । १० वर्षको उमेरमा पारिवारिक जिम्मेवारीका कारण सांसारिक जीवनमा फर्किएका उनले पछि संगीतलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाए ।
वि.सं. २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा हिन्दी गीतका कभर गाएर उनी नेपाली श्रोतामाझ परिचित भए । हवायें, जीना जीना, दिल दियाँ गलाँ, फिर भी तुमको चाहुँगा र ‘मिले हो तुम’ लगायत गीतका कभरले उनको सांगीतिक यात्रालाई फराकिलो बनायो । त्यसपछि नेपाली तथा तिब्बती-भुटानी गीतमा पनि उनको स्वर सुनिन थाल्यो । ‘तिमी मेरो भविष्य, ता सेर्पो, छोए डाङ्पा, छाम्गोन ताई सितुपा’ र ‘कुत्से तेन’ जस्ता गीतले उनको सांगीतिक पहिचानलाई अझ बलियो बनायो । संगीतबाट सुरु भएको यात्रा विस्तारै अभिनयतर्फ मोडियो । ‘सम्हालिन्छ कहिले मन’बाट नेपाली सिनेमामा अभिनय सुरु गरेका सोनम अहिले ‘जलाकी’सम्म आइपुगेका छन् ।
‘जरुरी कुरा छ’मा पूजा शर्मासँग देखिएको उनको जोडी होस् वा ‘जलाकी’मा उपासना सिंह ठकुरीसँगको सहकार्य, सोनमले पर्दामा आफ्नो छुट्टै उपस्थिति बनाउने प्रयास गरिरहेका छन् । ‘जलाकी’मा भने उनी अभिनयसँगै पार्श्व गायनमा पनि जोडिएका छन् । सिनेमाका गीत चाँदी जलप, जाले रुमाल मायालाई, कलेजीको छेउ र पहिलो माया’मा उपासना र सोनमको जोडीले दर्शकको ध्यान खिचेको छ ।
सोनमका लागि नेपाली सिनेमामा काम गर्नु कलाकारिताको अवसर मात्र होइन, नेपाली भाषा, समाज र संस्कृतिसँग आफूलाई जोड्ने माध्यम पनि हो । नेपालमा लामो समयदेखि रहेर नेपाली कला क्षेत्रमा काम गरिरहेका उनलाई अझै पनि कतिपयले बाहिरबाट आएको कलाकारका रूपमा हेर्ने गरेकोमा भने उनी चित्त दुखाउँछन् । त्यसैले ‘जलाकी’मार्फत आफूलाई नेपाली दर्शकमाझ अझ नजिकबाट चिनाउने उनको अपेक्षा छ ।
मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा आधारित ‘जलाकी’लाई सोनमले मौलिक प्रेमकथाका रूपमा लिएका छन् । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीकका रूपमा लिइने ढुंगाको स्तम्भ ‘जलाकी’लाई सिनेमाको कथासँग जोडिएको उनी बताउँछन् । ‘जलाकी’ मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको अर्गानिक प्रेमकथा हो,” सोनम भन्छन्, जसरी ‘जलाकी’ माया र सम्झनाको प्रतीक हो, त्यस्तै यो सिनेमाले पनि दर्शकको मनमा सम्झना छोड्नेछ भन्ने लाग्छ ।
आफ्नो करिअरमा अझै धेरै दर्शकसम्म पुग्न बाँकी रहेको स्वीकार गर्ने सोनम ‘जलाकी’लाई त्यसका लागि महत्वपूर्ण अवसर मान्छन् । मलाई अझै पनि धेरैले चिन्नुभएको छैन, उनी भन्छन्, तर ‘जलाकी’को पात्र र कथाले मलाई हरेक नेपाली दर्शकको मनसम्म पुर्याउनेछ भन्ने विश्वास छ । अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’मा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाले मगर समुदायको संस्कृति, प्रेम, सम्झना, विछोड र सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ । दुर्घटनाले रोकेको यात्रा, समयले दिएको दोस्रो अवसर र आफूले मन पराएको पात्रमा पुनः फर्किएको क्षण-सोनमका लागि ‘जलाकी’ यिनै सबै अनुभवको संगम बनेको छ ।