‘खुस्मा’को ट्रेलर सार्वजनिक: जनयुद्ध र प्रेमले बुनेको भावनात्मक कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज ३ गत्ते देखि प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’ को मुख्य अभिनेता धिरज मगरको जन्मदिन विशेष बनाउँदै सिनेमाको ट्रेलर राजधानीमा आयोजित एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरियो।

ट्रेलरमा प्रेम, संघर्ष, र जनयुद्धको पृष्ठभूमिमा आधारित गहिरो कथावस्तु प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि धिरजको जन्मदिन मनाउँदै केक काटेर समारोहलाई थप रमाइलो बनाइएको थियो।

सिनेमाको ट्रेलरले माओवादी सशस्त्र द्वन्द्वको समयमा गाउँबाट हराएको श्रीमानको प्रतिक्षामा रहेको श्रीमती र त्यस समयमा अंकुरिएको एक प्रेमकथालाई केन्द्रमा राखेको छ।
धिरज र उपासना प्रेमी-प्रेमीकाको भूमिकामा देखिएका छन्।

धिरज मगरले आफ्नो जन्म गाउँमा सिनेमा छायांकन गर्न पाउँदा आफूलाइ निकै भाग्यमानी महसुस गरेको बताए। उनले निर्देशक अशोक थापा मगरप्रति आभार व्यक्त गर्दै भने, “२ वर्षको उमेरमा युके गए पनि सधैं आफ्नो गाउँको प्रचार गर्न चाहन्थें। यो सिनेमा मार्फत मेरो त्यो इच्छा पुरा भएको बताए ”

सिनेमाको निर्देशन र लेखन अशोक थापा मगरले गरेका छन्, जसले यसअघि डकुमेन्ट्री सिनेमामा काम गरेर अन्तर्राष्ट्रिय स्तरमा नौ वटा पुरस्कार जितिसकेका छन्। तर, ठुलो पर्दाको यो उनको पहिलो निर्देशकिय सिनेमा हो।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको ‘खुस्मा’का निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर हुन् भने सह-निर्मातामा सुस्मिता बुढाथोकी छन्।

सिनेमामा धिरज र उपासना बाहेक माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगरले अभिनय गरेका छन्।

सिनेमामा एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत रहेको छ भने गीत लेखन सुरेन्द्र राना, राम अविरल बिष्ट र अशोक थापा मगरले गरेका छन्। सिनेमाको छायांकन दीपक बज्राचार्यले गरेका हुन्, । यसअघि सार्वजनिक भएका गीत र टिजरलाई पनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ।

सम्बन्धित समाचारसबै