




सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘खुस्मा’ को भव्य प्रिमियर मंगलबार साँझ काठमाडौंको बिग मुभिजमा सम्पन्न भएको छ। सशस्त्र द्वन्द्वकालको कथामा आधारित यस सिनेमा हेर्न प्रिमियरमा राजनितिज्ञ, सिनेमाकर्मी, र पत्रकारको उल्लेख्य उपस्थिति देखियो। असोज ३ अर्थात् बिहीबारबाट रिलिज हुन लागेको यस सिनेमाले द्वन्द्वकालको पिडा र त्यसले आम नागरिकमा पारेको प्रभावलाई पर्दामा उतारेको छ।
सिनेमा हेर्न आएका प्रमुख अतिथिहरूमा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, कोरियोग्राफर रेनेशा वान्तवा राई, र निर्माता रोहित अधिकारी उपस्थित थिए। उनीहरू सबैले सिनेमाको कथा र कलाकारहरूको अभिनयको प्रसंसा गरे।
रेनेशा वान्तवा राईले सिनेमा हेर्दा केही दृश्यहरू अत्यन्त भावुक बनाउने खालका रहेको र कलाकार उपासना सिंह ठकुरीको अभिनय उत्कृष्ट रहेको बताइन्। सांसद ज्ञानेन्द्र शाहीले पनि ‘खुस्मा’लाई एउटा दस्तावेजको रूपमा व्याख्या गर्दै यो सिनेमा हेरेपछि नेपालका धेरै राजनीतिक र सामाजिक पक्षहरू बुझ्न सकिने बताए।
निर्देशक निश्चल बस्नेतले निर्देशक अशोक थापा मगरको पहिलो सिनेमा भए तापनि, कथालाई सरल र सशक्त रूपमा प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया दिए। उनले मुख्य कलाकार धिरज मगर र उपासनाको अभिनयको खुलेर प्रशंसा गरे।
सिनेमा समीक्षकहरूका अनुसार, ‘खुस्मा’ले तत्कालीन माओवादी द्वन्द्वले जनमानसमा पार्ने प्रभावलाई यथार्थपरक रूपमा चित्रण गरेको छ। मायालु जोडीहरूको प्रेम र द्वन्द्वले उनीहरूमा पारेको असर सजीव रूपमा प्रस्तुत गरिएको छ।
यो सिनेमा दुई दशकअघिको द्वन्द्वले नेपाली समाजमा पुर्याएको चोटलाई स्मरण गराउने सिनेमा हो, जसले दर्शकलाई पुराना घाउहरूबारे सोच्न बाध्य बनाउने छ। निर्देशक थापाले यस सिनेमामा सरल तर भावनात्मक कथा प्रस्तुत गर्दै, द्वन्द्वका पीडितहरूको कथा पर्दामा उतारेका छन्।
‘खुस्मा’मा धिरज मगर र उपासना सिंह ठकुरीका साथै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, र अरुन मगरजस्ता कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको गीत र ट्रेलरले राम्रो चर्चा पाएको छ, जसले गर्दा दर्शकहरू सिनेमाप्रति निकै उत्साहित देखिएका छन्।
यो सिनेमा प्रेमकथामा आधारित छ, तर यसले जनयुद्धले समाज र प्रेम सम्बन्धमा कसरी असर पुर्याउँछ भन्ने कुरालाई पनि उठान गरेको छ।