




सिनेसुत्र, बिराटनगर- असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने सिनेमा ‘बेहुली फ्रम मेघौली’को ट्रेलर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ। ट्रेलरले एक परम्परागत नेपाली परिवारको कथालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ, जसमा छोरीको उमेर ३० वर्ष नकट्दै विवाह गराउन परिवारले देखाएको चिन्ता र त्यसले उत्पन्न गरेका विभिन्न हास्यप्रद परिस्थिति देखाइएको छ। ट्रेलरमा समाजमा फैलिएको परम्परागत धारणा, जसमा केटीको उमेर बढेपछि विवाह गर्न कठिन हुन्छ भन्ने मान्यतालाई व्यंग्य गरिएको छ। करिब ३ मिनेट १७ सेकेण्ड लामो यस ट्रेलरले सिनेमा भित्रको मुख्य कथावस्तु र पारिवारिक संघर्षलाई रोचक ढंगले प्रस्तुत गरेको छ।
ज्योतिषले दिएको सुझावका कारण अभिनेत्री स्वस्तिमा खड्काको पात्रले ३० वर्ष पूरा नहुँदै बिहे गर्नुपर्ने दबाब खेप्नुपरेको छ तर, उनको मन पराइरहेको पात्र निश्चल बस्नेत भने पहिले नै कसैसँग प्रेम सम्बन्धमा रहेका छन्। पारिवारिक दबाब र योग्य वरको खोजीमा स्वस्तिमा र उनको परिवारले गर्ने संघर्षलाई सिनेमामा हास्यप्रधान शैलीमा चित्रण गरिएको छ।
ट्रेलरका संवादले दर्शकको ध्यान तान्न सक्छ भन्ने विश्वास गरिएको छ। सिनेमामा निश्चल र स्वस्तिमाका अतिरिक्त बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीले अभिनय गरेका छन्।
यो सिनेमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको हो, जसले उनीहरुको डेब्यु निर्देशनको पहिचान बनाएको छ। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चल बस्नेतले सघाएका छन्। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस सिनेमाका कार्यकारी निर्माताहरू फिरोज खड्का र शंकर पाण्डे हुन्। विजय बराल कास्टिङ डिरेक्टरका रूपमा रहेका छन् भने नरेन्द्र मैनालीले छायांकन गरेका छन्। कुशल पोखरेल र जयन जे वाइवाको संगीत, निमेष श्रेष्ठको सम्पादन, र प्रदीप लामा तथा केबीका खत्रीको कोरियोग्राफीले सिनेमालाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।
सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्नेछन्।