आज शुक्रबार दुई नयाँ सिनेमा प्रदर्शनमा : ‘सानो संसार’ र ‘आँखा’ को कथा अब दर्शकमाझ

0 Shares

सिनेसुत्र, बिराटनगर- आज शुक्रबार दुई नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् – ‘सानो संसार’ र ‘आँखा’। पारिवारिक कथामा आधारित ‘सानो संसार’ र सुकुम्बासी बस्तीका मानिसहरूको कथालाई चित्रण गर्ने ‘आँखा’ दुबै सिनेमाले दर्शकको ध्यान खिच्ने प्रयास गरेका छन्।

‘सानो संसार’ ले प्रिमियरमै निकै सकारात्मक प्रतिक्रिया पाएको थियो, जसले गर्दा यसका निर्माता अर्जुन कुमार र माधव वाग्ले उत्साहित छन्। पारिवारिक भावनालाई जोड्ने यस सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीता देवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ।
यसका साथमा, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, र जीवन गौतमले अभिनय गरेका छन्।
यो सिनेमा मार्फत धेरै कलाकारको डेब्यु प्रोजेक्ट बनेको छ। राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको यस सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन्, भने निर्देशनको जिम्मेवारी सिद्धार्थ पुडासैनीले लिएका छन्। सिनेमाको कथा लेख्नमा उनलाई सरिष्मा खत्रीले सघाएकी छन्।

प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको यस सिनेमालाई म्युजिक नेपाल र टुनामुना कन्सेप्ट डिजिटल क्रिएटिभ पाट्नरको रूप रहेका छन् ।

अर्को सिनेमा ‘आँखा’ भने जौन योन्जनको लेखन र निर्देशनमा बनेको सिनेमा हो। उक्त सिनेमामा स्मिता लामिछाने र आरके मेहताले मुख्य भूमिका निर्वाह गरेका छन्। यसका साथै, निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनयले सिनेमा थप प्रभावकारी बनाएको छ। प्रिमियरमा औसत प्रतिक्रिया पाए पनि यस सिनेमाले दर्शकको अपेक्षा पूरा गर्ने आशा गरिएको छ।

अलोक शुक्लाको छायांकनमा तयार भएको यस सिनेमाका निर्माता र निर्देशक दुबै जौन योन्जन हुन्। ‘आँखा’लाई ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टले मिलेर निर्माण गरेका हुन्।

सिनेमाका गीतमा दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको छ, भने सिनेमाको वितरण आरआर फिल्मसले गरेको छ।

सम्बन्धित समाचारसबै