




सिनेसुत्र, बिराटनगर – आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुने बहुप्रतीक्षित नेपाली सिनेमा ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक भएको छ। टिजरमा सुपरस्टार प्रदीप खड्काका विभिन्न चरित्रहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालाले स्टाइलिश लुक्समा धमाकेदार इन्ट्री गरेका छन्।
१ मिनेट २० सेकेन्ड लामो यस टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदीप खड्कासँग रोमान्टिक दृश्यमा देखाइएको छ। साथै, उनीहरूको सम्बन्धका केही तनावपूर्ण क्षणहरूलाई पनि चित्रण गरिएको छ। टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभ कोइरालाको संवादले सिनेमामा रहस्यमय मोड रहेको संकेत गर्छ।
१० वर्षपछि सिनेमा क्षेत्रमा कमब्याक गरेका अभिनेता राजबल्लभ कोइरालाले यसपटक आफूले अघिल्लो सिनेमामा निर्वाह गरेको भूमिकाभन्दा बिल्कुलै फरक शैलीको चरित्र निर्वाह गरेका छन्। यसै सिनेमा मार्फत अभिनय यात्रा सुरु गरेकी दिव्या रायमाझीलाई ‘बोल्ड एन्ड ब्यूटिफुल’ अवतारमा प्रस्तुत गरिएको छ। दिव्या, नेपाली सिनेमाका चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन्, र यस सिनेमा परियोजनाको लागि अमेरिका छोडेर नेपाल फर्किएकी हुन्।
राजन भुसालको निर्देशनमा बनेको यो सिनेमा प्रदीप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका समेटिएको छ। ‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्यूसरको रूपमा मोती कार्की रहेका छन्। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा तयार पारेका हुन्।
यस सिनेमामा नरेन्द्र मैनालीले छायांकन, निमेश श्रेष्ठले सम्पादन, राजेन्द्र मोक्तानले रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खानको भूमिका रहेको छ। पोस्टर र पब्लिसिटी डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले गरेका छन्। सिनेमा मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली हुन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको योगदान छ भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।