


सिनेसुत्र, बिराटनगर- यस वर्षको अत्यन्त प्रतीक्षित नेपाली सिनेमा ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ। दशैं फूलपातिको अवसरमा असोज २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने यस सिनेमाको ट्रेलरले दर्शकमा ‘फेस्टिभल मुड’ जगाउने संकेत दिएको छ।
‘छक्कापञ्जा ५’ को ट्रेलर साँझ ६ बजेर ५५ मिनेटमा रिलिज गरिएको हो, जसलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन्। मुख्य भूमिकामा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी छन्। माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा छन् भने यो सिनेमा आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा तयार भएको हो। यसले भ्रष्टाचार र कर्मचारीतन्त्रप्रति कटाक्ष गरेको छ।
ट्रेलरले मुख्य कथावस्तुसँगै एक्सन, कमेडी र रोमान्सलाई पनि समेटेको छ। सिनेमामा दीपकराज गिरीले भ्रष्टाचार नगर्ने एक इमानदार कर्मचारीको भूमिका निर्वाह गरेका छन्। अघिल्ला श्रृंखलामा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह र राजनीति जस्ता विषयवस्तुहरूलाई उठाइएको थियो। यस पटक ब्युरोक्रेसी र भ्रष्टाचार मुख्य मुद्दाका रुपमा रहेको छ।
यसअघि रिलिज भएका दुई गीत ‘विहे भाको छैन’ र ‘ब्रेकअप सङ’ ले निकै चर्चा पाएका थिए। सामाजिक सञ्जालमा यी गीतहरू अझै हिट भइरहेका छन्। पहिलो श्रृंखला आठ वर्षअघि रिलिज भएको ‘छक्कापञ्जा’ का अघिल्ला चारै श्रृंखलाले घरेलु बक्सअफिससहित नेपाली डायस्पोरामा पनि उल्लेखनीय कमाई गरेका थिए।
‘छक्कापञ्जा ५’ नेपालसहित उत्तर अमेरिका, युरोप, पूर्वी एसिया, र ओसियानाका अष्ट्रेलिया र न्युजिल्याण्डमा एकसाथ रिलिज हुँदैछ। मध्यपूर्वमा भने नेपाल रिलिज भएको एक हप्ता पछि मात्र प्रदर्शन हुनेछ। साउदी अरब, माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा पहिलोपटक प्रदर्शन हुने नेपाली सिनेमा पनि यही हो।
वितरकहरूका अनुसार अमेरिकामा सिनेमाको अग्रिम बुकिङको ट्रेन्डले यसले रेकर्ड ब्रेक गर्ने सम्भावना देखाएको छ। बक्सअफिस ट्रेन्डको आधारमा ‘छक्कापञ्जा’ श्रृंखलालाई कतिपय व्यापार विश्लेषकहरूले नियमित प्रदर्शनभन्दा इभेन्टको रुपमा लिन्छन्। यस सिरिजले सामाजिक कथावस्तुलाई हास्य शैलीमा प्रस्तुत गर्दै आएको छ, जसले दर्शकको मन जित्दै आइरहेको छ।