


सिनेसुत्र, बिराटनगर- नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन्। सिनेमामा उनको जोडी जितु नेपाल छन्। सिनेमाको पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकलाई उनको जोडीबारे प्रष्ट पारिसकेको छ।
नितीका अनुसार सिनेमा ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी यसमा काम गर्न सहमत भएकी रहिछन्। ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें, र २० मिनेटमै काम गर्न सहमत भएँ,’ नितीले भनिन्। स्क्रिनप्ले राम्रो भएको र आफ्नो क्यारेक्टर आकर्षक देखिएको कारण उनी सिनेमामा जोडिइन्।

सिनेमाको कथा उनकै वरिपरि घुमेको बताउँदै नितीले भनिन्, ‘मलाई स्टोरीलाइन मन परेको थियो, र कथा नै मेरै वरिपरि घुमेकाले यो सिनेमा गर्नुपर्छ भन्ने मलाई लाग्यो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको एक दृश्यको फुटेज टिकटकमा सार्वजनिक हुँदा त्यसले राम्रो प्रतिक्रिया पाएको थियो। नितीले टिकटकमा प्राप्त प्रतिक्रियाबारे भनिन्, ‘रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यस्तो अवस्थामा कसरी पुगिन् भन्ने चासो सबैलाई थियो, तर जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने मेरो बुझाई हो।’
सिनेमा ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न धेरै मेहनत गरेकी थिइन्। उनले आफ्नो टोनमा समस्या भएको बताउँदै अझै धेरै सिक्न बाँकी रहेको पनि भनिन्।
नितीले जितु नेपालको कामबाट आफू प्रभावित भएको पनि खुलाइन्। ‘जितु दाई धेरै सिनियर हुनुहुन्छ तर सेटमा त्यो देखाउनुभएन। उहाँसँग काम गर्दा सहज भयो र उहाँको संघर्ष प्रेरणादायी लाग्यो,’ उनले भनिन्।
वसन्त निरौलाद्वारा निर्देशित यो सिनेमामा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।
