ज्वाइँ साब’मा बुद्धि तामाङको बुस्टर क्यारेक्टर: फूलपातीमा हास्य र मनोरञ्जनको धमाका

0 Shares

सिनेसुत्र, बिराटनगर- कलाकार बुद्धि तामाङ प्रायः सिनेमाहरूमा प्रमुख पात्रका साथीको भूमिकामा देखिन्छन्। चाहे साथीलाई सल्लाह दिनुपर्ने होस् वा उकास्ने, बुद्धिको भूमिकामा सँधै सक्रियता पाइन्छ। यसै सन्दर्भमा, यही असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको सिनेमा ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’को चरित्रमा देखिदैछन्।

बुद्धिका अनुसार, ‘ज्वाइँ साब’मा दर्शकहरूले उनलाई प्रमुख कलाकार जितु नेपाललाई प्रेरित गर्ने पात्रको रूपमा देख्नेछन्। “सिनेमामा मेरो चरित्र जितु दाइलाई बुस्ट र सपोर्ट गर्ने छ। उहाँलाई उकास्दै माथि लैजाने मेरो भूमिका हो,” बुद्धिले स्पष्ट पारे।

सिनेमाबारे बुद्धिको बुझाइ भनेको, मनोरञ्जनको प्रमुख स्रोत नै सिनेमा हो। “ज्वाइँ साब हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेछन्। जो कोही मनोरञ्जन खोज्दै सिनेमा हेर्न आउँछन्, उनीहरूलाई निराश हुनुपर्ने ठाउँ छैन। सिनेमामा सामाजिक, हृदय छुने, र हास्य तत्वहरू छन्,” बुद्धि थप्छन्।

सिनेमाको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवकले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइन्छ। सो प्रतियोगितामा बुद्धिले पनि भाग लिएका छन्। “यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न आवश्यक गुणहरू के हुन् भनेर जाँच गर्ने हो। निकै चाखलाग्दो छ, तर त्यस्तो प्रतियोगितामा भाग लिन सजिलो छैन। समाजले यस्ता प्रतिष्पर्धालाई पचाउन सक्ला कि नसक्ला, तर मलाई चाहिने मान्छे भने योग्य र सक्षम नै हो,” बुद्धि हाँस्दै बताउँछन्।

बुद्धिले ‘ज्वाइँ साब’लाई आफ्ना अघिल्ला सिनेमाहरूभन्दा फरक अनुभव गरेको बताए। “दर्शकहरूले मबाट केही नयाँपनको अनुभव गर्नुहुनेछ, त्यो अनुभव पाउन सिनेमा नै हेर्नुपर्ने हुन्छ,” उनले भने।

निर्देशक वसन्त निरौलासँग बुद्धिको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले सिनेमा ‘होलिडे’मा सँगै काम गरेका थिए। यस्तै, उनले जितु नेपालसँग ‘वडा नम्बर ६’, ‘छक्का पन्जा’ सिरिजका सिनेमाहरूमा पनि सहकार्य गरिसकेका छन्। सिनेमा ‘कार्साङ’मा पनि उनीहरूले सँगै काम गरेका थिए।

वसन्त निरौलाद्वारा निर्देशित सिनेमा ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्य लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

सम्बन्धित समाचारसबै