



सिनेसुत्र, बिराटनगर- आगामी कार्तिक ३० गते रिलिज हुन लागेको सिनेमा ‘मिसिङ: केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक भएको छ। ट्री सिटी पिक्चर्सको प्रस्तुति रहेको यो सिनेमा, सोही व्यानरमा निर्माण गरिएको हो।
पोस्टरमा नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई रेलको लिकमा हात समाएर हिँडिरहेको देख्न सकिन्छ। सृष्टि कुर्ता सुरुवालमा सजिएर, शीरमा ह्याट र कालो ब्याग बोकेकी छन् भने उनले सेतो जुत्ता लगाएकी छन्। त्यस्तै, नाजिर सर्ट र पेन्टमा देखिएका छन्, उनले पनि ह्याट लगाएका छन् र सेतो रंगको जुत्ता पहिरेका छन्। पृष्ठभूमिमा अर्को कलाकार दुरा सञ्जय गुप्ता रातो हिरो होण्डा मोटरसाइकलमा कालो चस्मा र गाम्छासहित देखिन्छन्। उनी पान चपाउँदै जनकपुर-जयनगर रुटमा चल्ने रेलको साथमा प्रस्तुत भएका छन्। पहाड र तराईको सुन्दर दृश्यले पोस्टरलाई थप आकर्षक बनाएको छ। पोस्टर आशिस सापकोटाले डिजाइन गरेका हुन्।
यस सिनेमाको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन्, जो ३२ वर्षअघि आएको डकु-ड्रामा ‘उजेली’का निर्देशक हुन्। दीपेन्द्रले यस सिनेमाको स्क्रिप्ट लेखन र निर्माणको जिम्मा पनि सम्हालेका छन्।
नाजिर हुसेन, सृष्टि श्रेष्ठ, र सञ्जय गुप्तासँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्णको अभिनय रहनेछ भने अमितेष शाहको विशेष भूमिका रहनेछ।
कार्यकारी निर्माता नकिम उद्दिन रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माताको रूपमा छन्। सहायक निर्माता अमितेष शाह रहेका छन्। सिनेमामा दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, र अमित पोखरेलले स्क्रिप्ट सुपरभिजन गरेका छन्।
सिनेमाको छायांकन अमर महर्जनले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ भने दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करण थापाको संगीत रहेको छ। गीतमा दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापा, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार, र इन्दिरा जोशीको स्वर रहेको छ। सिनेमाको कोरियोग्राफी राजीव कर्णले गरेका छन्, सहायक कोरियोग्राफी काजोल कर्णले गरेका छन्। जीवन पोखरेल र दीपेशको कष्ट्युम डिजाइन रहेको छ भने आर्ट निर्देशन अकी थेक्पाले गरेका छन्, सहायक आर्ट निर्देशक राहुल जैरु हुन्।
यस सिनेमाको संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत पहिले नै सार्वजनिक भइसकेका छन्। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको यो सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।
गित हेर्नुहोस :
टिजर हेर्नुहोस :