




सिनेसुत्र, बिराटनगर- ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा शानदार शुरुवात गरेको छ। विहीबार र शुक्रबार, यो सिनेमाले देशभरबाट करिब ४ करोड रुपैयाँ ग्रस कमाई गरेको जानकारी वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले दिएको छ।
वितरक मनोज राठीका अनुसार, पहिलो दिन मात्र सिनेमाले १ करोड ८० लाखदेखि २ करोडसम्मको कमाई गरेको छ। उनले भने, “छक्कापञ्जा सिरिजको यो पाँचौं भागले अघिल्ला श्रृंखलाहरूको भन्दा उच्च कमाई गरेको छ। सिरिजकै यो रेकर्ड ब्रेकिंग कमाई हो।”
शुक्रबार पनि सिनेमाको कलेक्सन पहिलो दिनकै हाराहारीमा रह्यो। देशभर करिब २५० शोमा प्रदर्शन भइरहेको यो सिनेमा, आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
वितरकको अनुमानअनुसार, शनिवार विजया दशमीको दिन र आइतबारको सार्वजनिक बिदाको फाइदा उठाउँदै सिनेमाको चार दिने कुल कलेक्सनले ५ करोड नाघ्ने सम्भावना छ। दशैंको बिदा सोमबारसम्म रहेकोले सिनेमालाई अझ राम्रो मौका मिलेको छ।
शनिबार, टीका ग्रहण गरेपछि हलमा शोहरू सुरु भएका थिए र त्यसपछिका सबै शो हाउसफुल रहे। निर्माता तथा अभिनेता दीपकराज गिरीले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए।
यसैबीच, विराज भट्टको निर्देशनमा बनेको एक्सन सिनेमा ‘१२ गाउँ’ले पनि आफ्नो शोजको आधारमा राम्रो कमाई गरिरहेको छ। वितरक गोविन्द शाहीले सिनेमा कलेक्सनको यकिन तथ्यांक आउन बाँकी रहेको जनाएका छन्।
अर्को नेपाली सिनेमा ‘ज्वाइँ साप’ र बलिउड सिनेमा ‘जिग्रा’ पनि हलहरूमा प्रदर्शन भइरहेको छ।