‘ज्वाइँ साप’को क्रेज बढ्दै : कम शोबाट हाउसफुलको यात्रा

0 Shares

सिनेसुत्र, बिराटनगर- फूलपातीको अवसरमा गत असोज २४ गते रिलिज भएको सिनेमा ‘ज्वाइँ साप’ ले आफ्ना शो पाएका हलहरूमा हाउसफुल व्यापार गर्दै छ। ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ भन्दा थोरै शो पाए तापनि वर्ड अफ माउथको प्रभावले गर्दा यो सिनेमाप्रति दर्शकको आकर्षण बढ्दै गएको छ ।

निर्देशक वसन्त निरौलाले पहिलो दिन अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा उत्साहजनक रुपमा अकुपेन्सी बढेको बताए। “सुरुवाती दिनमा ३० प्रतिशत मात्र अकुपेन्सी थियो, तर तेस्रो दिनसम्म आइपुग्दा ८० प्रतिशत अकुपेन्सी पुगेको छ। धेरै हलहरूले शोहरू थपिरहेका छन्।
राम्रो सिनेमा भए दर्शकहरू स्वतः आउँछन् र शो पनि बढ्छ,” उनले भने।

दर्शकहरूले मुख्य कलाकार जितु नेपालको अभिनयको विशेष प्रशंसा गरेका छन्। साथै, सिनेमामा समावेश गरिएको कमेडीसँगै भावुक दृश्यहरूले पनि दर्शकहरूलाई हलमा तान्न सफल भएको निर्माण पक्षको विश्वास छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो सिनेमालाई वसन्त निरौलाले निर्देशन गरेका हुन्, जहाँ जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, र प्रकाश घिमिरे जस्ता कलाकारहरूको अभिनय देख्न सकिन्छ।

सम्बन्धित समाचारसबै