हल र निर्माता पक्षबीचको विवाद उत्कर्षमा : ‘बेहुली फ्रम मेघौली’ कात्तिक १ देखि हलबाट हटाइने निश्चल बस्नेतको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा क्षेत्रमा हल र निर्माता पक्षबीचको तनाव अझै गहिरिँदै गएको छ, जसको पछिल्लो उदाहरण ‘बेहुली फ्रम मेघौली’ हो ।
निर्माता निश्चल बस्नेतले कात्तिक १ गतेदेखि यो सिनेमा देशभरका हलहरूबाट हटाइने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

हाल हल सञ्चालक र सिनेमा निर्माण टोलीबीच शोको व्यवस्थापनमा विवाद बढ्दै गएको छ।
‘बेहुली फ्रम मेघौली’ले राम्रो दर्शक साथ पाए पनि विदेशी सिनेमा प्रति प्राथमिकता देखिएको भन्दै बस्नेतले लामो समयदेखि आपत्ति जनाउँदै आएका थिए।
उनले हलको विकल्प खोज्नुपर्ने संकेत दिँदै आएका थिए, जसमा बुधबार बिहान उनले फेसबुकमार्फत सिनेमा हलबाट हटाइने निर्णय स्पष्ट गरे ।

उक्त घोषणा गर्दै, उनले क्यू एफ एक्सलाई शो उपलब्ध गराएकोमा धन्यवाद दिए र अब अन्य सम्भावनाहरूको खोजी गर्ने संकेत पनि गरेका छन्।
सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ भने वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको पनि महत्वपूर्ण अभिनय रहेको छ।

सम्बन्धित समाचारसबै